एजेन्सी, २२ साउन–प्रीमियर लिग क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । ओल्ड ट्राफोर्डमा बुधबार राति भएको शीर्ष १६ को दोस्रो लेगमा अष्ट्रियन लिन्जेर एथ्लेटिक स्पोर्ट्स क्लब एलएएसकेलाई २-१ ले पराजित गर्दै युनाइटेड युरोपा लिगको क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
पहिलो लेगमा ५-० गोलको फराकिलो जित निकालेको युनाइटेडले दोस्रो लेगमा २-१ गोलको जितसँगै समग्रमा ७-१ को नतिजासहित युनाइटेड क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
घरेलु मैदानमा भएको दोस्रो लेगमा पछि परेको अवस्था उल्टाउँदै युनाइटेडले पुनरागमन जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा फिलिप विसिंगारले गोल गर्दै एलएएसकेलाई अग्रता दिलाएका थिए । तर त्यसको दुई मिनेट नबित्दै युनाइटेडका जेसे लिंगार्डले गोल गर्दै १-१ को बराबरीमा ल्याए ।
खेल सकिन दुई मिनेट बाँकी रहँदा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए । त्यसपछि दुबै टोलिबाट थप गोल हुन नसक्दा युनाइटेडले खेल २-१ गोलले जितेको हो । अब युनाइटेडले क्वाटरफाइनलमा डेनिस क्लब एफसी कोपनहेगनसँग खेल्नेछ ।
