झिलझिले, २२ साउन– झापाको शिवसताक्षी नगरपालिकावडा नं ७ चन्द्रडाँगीमा रहेको एक विद्यालयका प्रधानाध्यापकलाई राजनीतिक पूर्वाग्रहको आधारमा पदमुक्त गराइएको विषय विराटनगरस्थित उच्च अदालतमा पुगेको छ । नेकपाबाट निर्वाचित वडाध्यक्ष समेत रहेका नगर प्रवत्ता नबिन इजमको अध्यक्षतामा रहेको शुक्र माध्यमिक विद्यालय व्यवस्थापन समितिको गत श्रावण ६ गतेको निर्णय अनुसार प्रधानाध्यापक राजनारायण चौधरीलाई पदमुक्त गरिएको थियो ।
प्रधानाध्यापक चौधारीलाई पदमुक्त गरेपछी सोही विद्यालयमा कार्यरत एक शिक्षकलाई विाद्यालयको प्रधानाध्यापक पदमा नियुक्त गरेको बिषय उच्च अदालत विराटनगरमा पुगेको हो ।
उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायाधिस शिवनारायण यादवको एकल इजलासले आज बिहिबार जारी गरेको आदेशमा श्रावण ६ गतेको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन आदेश दिएको छ । निवेदक राजनारायणका तर्फबाट अधिवक्ताद्धय सन्तोषकुमार प्रसाइँ र तिलकसिंह पाण्डेले खगेन्द्र घिमिरेलाई विपक्षी बनाई अदालतमा चौधरीनै प्रधानाध्यापक कायम रहनुपर्ने तर्क पेश गरेका बताइएको छ ।
निवेदनको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए सो को सबुद प्रमाण समेत संलग्न राखी आफैं वा कानून बमोजिमको प्रतिनिधि मार्फत १५ दिनभित्र लिखत जवाफ पेश गर्न भनि विपक्षीका नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४१ (२) बमोजिम म्याद जारी गरि म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमाननुसार पेश गर्नु भनिएको छ ।
यसैगरी, निवेदक राजनारायण चौधरीले अन्तरिम आदेशको माग गरेको सम्बन्धमा निकास दिन उपयुक्त देखिएकाले सो अन्तरिम आदेश प्रयोजनका लागि आउँदो साउन ३२ गतेको पेशीको तारिख तोकी दुवै पक्षलाई जानकारी दिनु भन्ने उक्त परमादेशमा उल्लेख छ ।
परमादेशले दुवै पक्षको छलफलको लागि तोकिएको मितिसम्म उक्त विद्यालयमा रहेको विद्यालय व्यवस्थापन समितिको गत साउन ६ गते गरेको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनि उच्च अदालत नियामवली २०७३ को नियम ४२ बमोजिम विपक्षीको नाममा अन्तरकालिन अन्तरिम आदेश जारी गर्नुका साथै निज चौधरीले विपक्षी बनाएकालाई जानकारी दिनु भनिएको छ ।
यता, नेपाली कांग्रेस समद्ध नेपाल शिक्षक संघ शिबसताक्षी नगर समिति र नेपाल बिद्यार्थी संघ शिबसताक्षीले प्रेस विज्ञप्ति मार्फत घट्नाको कडा शब्दमा निन्दा र भत्र्सना गरेको छ । संघले अलग–अलग विज्ञप्ति प्रकाशन गरेर वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इजमले प्रचलित शिक्षा ऐन तथा नियमावली विपरित रहेर पदमुक्त गराइएको आरोप लगाइएको छ । संघले चौधरीलाई प्रधानाध्यापकबाट पदमुक्त गर्ने निर्णय अविलम्ब सच्याउनु पर्ने माग गरिएको छ ।
प्रधानाध्यापक चौधरीलाई फरक राजनीतिक आस्था र विचार राख्ने भएकै आधारमा सो विद्यालयको प्रधानाध्यापक पदबाट हटाएर नयाँ प्रअ नियुक्त गरिएको शिक्षक संघ र विद्यार्थी संघको ठहर छ ।
शिक्षक संघ शिबसताक्षी अध्यक्ष विष्णु सुव्वाले शिक्षा नियमावली विपरीत पूर्वाग्रही ढंगबाट एकाएक चौधरीलाई प्रधानाध्यापकको जिम्मेवारीबाट हटाइनु खेदजनक भएको बताए । अध्यक्ष सुव्वाले जनप्रतिनिधिहरुले पदीय मर्यादा र शैक्षिक मूल्य मान्यताको समेत ख्याल नराखी राजनीतिक पूर्वाग्रह राखेर प्रधानाध्यापकलाई गलहत्याउने काम बन्द गर्न माग गरेको छ ।

