दमक, २३ साउन–झापाको शिवसताक्षी–७ चन्द्रडाँगीस्थित शुक्र माविको प्रधानाध्यापकबाट हटाइएका राजनारायण चौधरीलाई नेपाल शिक्षक संघले पुनर्वहाली गराएको छ ।

चौधरीलाई हटाउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका शिवसताक्षी ७ का वडाध्यक्ष नवीन इजमकै सामुन्ने शिक्षक संघले पुनर्वहाली गराएको हो ।

उच्च अदालतले पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएपछि वडाध्यक्ष इजमलाई बोलाएर आज एक कार्यक्रमकाबीच पदमुक्त चौधरीलाई प्रधानाध्यापकको कुर्सीमा लगेर राखिएको हो ।

सम्बन्धित वडाका वडाध्यक्ष इजमको अध्यक्षतामा रहेको विद्यालय व्यवस्थापन समितिले गत साउन ६ गतेको निर्णय अनुसार प्रधानाध्यापक चौधरीलाई सो पदबाट हटाई सोही विद्यालयमा कार्यरत अर्का शिक्षक खगेन्द्र घिमिरेलाई नियुक्त गरेको थियो ।

उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायाधीस शिवनारायण यादवको एकल इजलासले हिजो जारी गरेको आदेशमा श्रावण ६ गतेको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन भनिएको छ । अन्तरिम आदेशको भोलिपल्ट शिक्षक संघले एक कार्यक्रम गरी पुनर्वहाली गराउँदै शिक्षा नियमावली विपरित चौधरीलाई पदमुक्त गराएको जनाएको छ ।

कार्यक्रममा नेपाल शिक्षक संघ शिवसताक्षीका अध्यक्ष विष्णु सुब्बाले भ्रष्टाचार गरेको, नैतिक रुपमा पतन भएको, फौजदारी अभियोगजस्ता कसूर भएमात्र पदबाट मुक्त गर्ने प्रावधान रहेको भन्दै प्रअ चौधरीलाई स्पष्टीकरण दिने मौकासमेत नदिई निरंकुश शैलीमा पदबाट हटाइएको आरोप लगाए ।

अध्यक्ष सुब्बाले राजनीतिक पूर्वाधारका आधारमा चौधरी माथि गरिएको कार्य अन्याय भएको बताउँदैं विव्यस अध्यक्षलाई उत्तर कोरियाका शासक किम जोमको उपमा दिएका थिए । उनले भने स् वडाध्यक्षको कार्यशैली किम जोमको जस्तो भयो, यस्ता कार्य मान्य नहुने र आगामी दिनमा शिक्षाका विषयमा जुनसुकै विभेदकारी निर्णय भएमा नगरको शिक्षा शाखा तालाबन्दी गर्ने कुरामा दुईमत छैन ।

त्यस्तै, नेपाली कांग्रेस शिवसताक्षीका सभापति पर्शुराम ढुंगानाले शिक्षा नियमावली अध्ययन गरेर मात्र निर्णय लिन इजमलाई सुझाव दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रहेका वडाध्यक्ष इजमले अदालतको फैसलालाई आत्मसात गर्ने बताउँदै अदालतको फैसला आफ्नो हातमा नआएसम्म चौधरीलाई प्रअमा पुनर्वहाली गर्न नसकिने धारणा राखे ।

शिक्षक संघ झापाका सहसचिव जितलाल चौधरीले संचालन गरेको कार्यक्रममा शिक्षक कुमार खतिवडाले पनि बोलेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *