मुगु, २४ साउन–जिल्ला जिल्ला पुगेर बिरामी उपचार गर्दै आएका डा.गोविन्द केसी पछिल्लापटक हिमाली जिल्ला मुगु परेका छन्। उनी डोल्पा, जुम्ला हुँदै बुधबार मुगु पुगेका हुन्। मुगु पुगेलगत्तै जिल्ला अस्पताल ठिनीमा बिहीबारदेखि बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिरहेका छन्। उनी जुम्लाको खलंगा बजारबाट हिँडेरै मुगु आइपुगेका हुन्।

केसीले विशेष गरी हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरी सेवा दिएका छन्। केसीसँग स्वास्थ्य जाँच गर्न विभिन्न स्थानबाट बिरामीहरु पुगेका छन्। ‘मलाई घुँडा दुख्ने समस्या थियो, त्यही भएर डा केसीसँग जाँच गराउन आएँ,’ छायाँनाथ रारा नगरपालिका–१० का दुधबहादुर विकले भने, ‘हड्डी फ्याक्चर भएको रहेछ।’

डा.केसी आउने खबर पाएपछि हड्डीसम्बन्धी समस्या भएकालाई लक्षित गरी सार्वजनिक सूचना जारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख निर्मल नगरकोटीले बताए। उनका अनुसार केसीले बिहीबार ४७ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन्। केसीले मुगु अस्पतालमै बसेर करिब तीन दिन सेवा दिनेछन्।

यसअघि, उनले हुम्लाको अदानचुली गाउँपालिका पुगेर करिब डेढ सयजनाको स्वास्थ्य परीक्षण गरेका थिए। अदानचुलीबाट फेरि बाजुरा, कालिकोट, जुम्ला पुगेर सेवा दिएका थिए।

जुम्लाबाट दुई दिन हिँडेर डोल्पाको जगदुल्ला गाउँपालिका पुगेका उनी त्यहाँ शिविर गर्न नपाएपछि चार दिन हिँडेर मुगु आइपुगेका हुन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *