बिर्तामोड, २५ साउन–झापाको बिर्तामोड नगरपालिकाले जारी गरेको बन्दाबन्दी आज राति १२ बजेदेखि खुल्ने भएको छ ।
नगरस्तरीय कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन समितिको आज बसेको बैठकले साउन २५ गते १२ बजेपछि बन्दाबन्दी खुला गर्ने निर्णय गरिएको हो । समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि सोको नियन्त्रणका लागि साउन १८ गतेदेखि नगरक्षेत्रमा बन्दाबन्दी घोषणा गरिएको थियो ।
“समुदायस्तरमै कोरोना संक्रमणको जोखिम बढेपछि लकडाउन गरिएको थियो”, नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले भन्नुभयो, “कोरोना संक्रमणको जोखिममा परेका व्यक्तिहरुको मास स्क्रिनिङ सकिएपछि लकडाउन खोल्न लागिएको हो ।”
बन्दाबन्दीको अवधिमा तीव्र गतिमा जोखिममा परेकाहरुको कन्ट्याक ट्रेसिङ, स्वाब संकलन र पिसिआर परीक्षणको गरिएको नगरप्रमुख शिवाकोटीले बताउनुभयो ।
नगरपालिकाले जोखिममा परेका स्वास्थ्यकर्मी, सुरक्षाकर्र्मी, नगरका प्रहरी, जनप्रतिनिधि, सञ्चारकर्मी, औषधि व्यवसायी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु र संक्रमित व्यक्तिहरुको सम्पर्कमा आइ जोखिममा परेका ब्यक्तिहरुको मास स्क्रिनिङ गरेको नगरको कोभिड–१९ रोकथाम तथा नियन्त्रण संयोजक ओम खड्काले बताउनुभयो ।
बिर्तामोड नगरपालिकामा हालसम्म २ हजार २४३ को पीसीआर परीक्षण गरिएको १ हजार ५०४ जनाको रिपोर्ट आएको छ । जसमध्ये १० जनामा मात्र कोरोनाको संक्रमण पुष्टि भएको छ भने ८ जना उपचारपछि घर फर्किसकेका छन् भने २ जना उपचाररत छन् । ७ सय ३९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
कोरोना महामारी र संक्रमणको जोखिमबाट मुक्त रहन सरकारी एकल प्रयासबाट मात्र सम्भव नभएकाले सबै तह र तप्काको सहयोग अपरिहार्य रहेको नगरउप्रमुख पवित्रा महतराले बताउनुभयो । “नगरबासीमा पनि जागरुकता र तत्परता हुन आवश्यक हुन्छ”, उहाँले भन्नुभयो, “कोरोनाको समुदायमा संक्रमण फैलन नदिन र यसको रोकथामका लागि समुदाय नै बढी सचेत हुनुपर्ने हुन्छ ।”
नगरपालिकाले क्वारेन्टिनको रेखदेख व्यवस्थापन, निगरानी कन्ट्याक्ट टे«सिङ लगायतको काम निरन्तर गरिरहेको छ भने यसलाई अझै व्यवस्थित बनाइने नगरपालिकाले जनाएको छ । नगरमा पिसिआर परीक्षणको दायरालाई बढाउँदै आइसोलेसन वार्ड बनाउन पनि पहल भइरहेको उपप्रमुख महतराले बताउनुभयो ।
