दमक, २५ साउन–झापाको दमकमा एक जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको छ । पोजिटिभ देखिएका सशस्त्र प्रहरी पुरुष हुन् । उनलाई यसअघि संक्रमण देखिएका व्यक्तिसंगको कन्ट्रयाक ट्रेसिङका आधारमा स्वाव संकलन गरि गत बुधबार परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो ।
दमकस्थित क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य कुवेर भट्टराईले ति सशस्त्र प्रहरीको पिसिआर रिपोर्ट पोजिटिभ आएको पुष्टि गरे । दमकमा सो दिन १०७ मध्ये ४७ जनाको रिपोर्ट आएको र एक जना बाहेक अन्य ४६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयले समेत दमकमा एक जनासहित प्रदेश एकमा कूल १४० जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
९६ जनाको नमुना संकलन
यसैबीच, हिजो दमकमा गरिएको मास टेस्टीङका क्रममा ९६ जनाको नमुना संकलन गरिएको छ । नगर प्रमुख रोमनाथ ओलीसहित जनप्रतिनिधि, उद्योगी व्यवसायी, राजनीतिक दलका नेता, पत्रकार समेत सो संख्यामा नमुना संकलन गरिएको हो ।
दमक चौकको एक होटलको क्वारेन्टाइन र दमक दाहाल प्रतिष्ठानको क्वारेन्टाइनमा मास टेस्टीङ गरिएको थियो । स्वाव संकलन गरिएका उनीहरुको रिपोर्ट बिहिबारसम्म आउने नगरपालिकाले जनाएको छ ।
दमकमा बनाइएका क्वारेन्टाइनमा हाल ७ महिला सहित कूल ३५ जना रहेका सदस्य भट्टराईले जनाएका छन् । ति मध्ये १३ जनाको नमुना संकलन भइसकेको छ । अन्यको आउँदो बुधबार संकलन गरिने जनाईएको छ ।
