दमक, २६ साउन–‘बाटोघरे कान्छा’ नामले चर्चित साहित्यकार पदम फियाक लिम्बूले झापाको दमकमा ‘होटल पेरुङ्गो’ सञ्चालनमा ल्याउनुभएको छ । इलाम, फाकफोक गाउँपालिका वडा नं ५ लुम्देका ‘बाटोघरे कान्छा’ लिम्बूले आज सोमबारदेखी दमकको मुख्य चौकमा ‘होटल पेरुङ्गो’ सञ्चालनमा ल्याउनुभएको हो ।
कला र साहित्य क्षेत्रमा चर्चित साहित्यकार कान्छाले ‘होटल पेरुङ्गो’मा किरात समुदायको मौलिक साँस्कृतिक खान–पानसहित स्वाद र परिकारहरु राखिने बताए । २५ लाख लगानीमा सञ्चालन गर्नुभएको होटल पेरुङ्गोको आज सोमबार बिहान औपचारिक ढंङ्गले उद्घाटन भएको छ । दमक–८ पश्चिम बसस्टेण्ड नजिक रहेको ‘होटल पेरुङ्गो’को सञ्चालक कान्छोका माता जीतमाया लिम्बूले रिवन काटेर उद्घाटन गर्नुभएको हो ।
पर्याप्त पाकिङको सुविधासहितको दमक मुख्य चौकमा अवस्थित होटलमा किरात समुदायाको मौलिक परिकारहरु वाचिप्पा, याङबेन पाइनुका साथै सुगुर, राँगा र कुखुराका सेकुवा, सुकुटी पाइने सञ्चालक कान्छाले बताए । कान्छाले भने–‘सामान्ययता दमकमा खाजा तथा खानाका परिकारहरु पाइने होटलहरु भएपनि वाछिपा र याङबेनसहित तोक्बा र सुकुटीहरु पाइने होटलहरुको अभाव छ ।’ दमकमा वाछिपा र याङबेनको स्वाद पारखीहरुलाई सेवा दिने उदेश्यले ‘होटल पेरुङ्गा’ सञ्चालनमा ल्याएको छु, कान्छाले भने ।
‘पेरुङ्गा’ बाँसको चोयाले निर्मित कोशेली बोक्ने वा घरायसी प्रयोजनका सरसामानहरु राख्न सकिने सामाग्री हो । खासगरी, पहाडी गाउँमा निर्माण गरिने यस्ता सामाग्रीहरु पछिल्लो समयमा लोप हुदै गइरहेको छ ।
त्यस्तैं, होटलमा चिसो तथा तातो पेय पदार्थहरु, कफी, ग्रीत टी समेत पाइने र अर्डर अनुसारका खाना तथा खाजाहरु उपलब्ध हुने सञ्चालक कान्छाले जानकारी दिए ।
होटलको भित्ताभरी दमक लगायत देशका चर्चित कवि, लेखक र गजलकारहरुको सृजनात्मक अंशहरु दुई–दुई लाइनमा राखिएको छ ।
पहिलो पटक होटलमा चिया, खाजा तथा आरामको लागी आगान्तुकहरुको लागि यो महत्वपूर्ण हुन्छ, कान्छाले भने–‘प्रसिद्ध वा ख्यातिप्राप्त बिद्धानहरुको भनाईहरु राख्नुभन्दा सर्जकहरुको सृजनालाई राख्न उचित ठाने । यो वहाँहरुको सम्मान र हार्दिकताको निम्ति पनि हो ।’
लेखन कार्यसँगै व्यवसायमा समेत सक्रिय कान्छाले यसअघि, दमकमा कुरियर र ट्राभल्स व्यवसाय सञ्चालन गर्दै आइरहेका थिए ।

