काठमाडौं, २६ साउन–विश्‍वकप छनोट र एशियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका खेलाडीहरूको कोरोना परीक्षण गरिएको छ। सोमबार बन्द प्रशिक्षणमा सहभागी हुने ३४ खेलाडीमध्ये ११ जनाको कोरोना परीक्षण गरिएको हो।

खेलाडीहरूसँगै पहिलो दिन १ फिजियो, १ प्रशिक्षक र एन्फा होस्टलका १२ स्टाफको परि २५ जनाको परीक्षण गरिएको छ। ललितपुरको पाटन अस्पतालमा फिजियो आविस्कार पुडासैनी र प्रशिक्षक किरण श्रेष्ठको पनि परिक्षण गरिएको हो।

सोमबार विशाल राई, रञ्जित धिमाल, मिक्चेन तामाङ, रवि पासवान, दर्शन गुरुङ, विमल राना, दिप कार्की, दिलेन लोक्तान, छिरिंग गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटीको कोरोना परीक्षण गरिएको हो। बाँकी खेलाडी र अफिसियलको पिसिआर मंगलबार गरिने राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले बताए।

सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै विश्वकप छनोटका लागि एन्फाले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ गतेबाट सुरु गर्ने तयारी गरेको छ। फिफा विश्वकप २०२२ छनोट अन्तर्गत नेपालले तीन होम खेल दशरथ रंगशालामा खेल्दै छ। तीन खेल मध्ये नेपालले असोज २२ गते चाइनिज ताइपेसँग र त्यसको ५ दिनपछि अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ।

समूह ‘बी’ मा रहेको नेपालले छनोट अन्तिम खेलमा नेपालले कात्तिक २७ गते जोर्डनसँग खेल्ने तालिका छ। समूह ‘बी’ मा रहेको नेपाल ३ अंकका साथ चौथो स्थानमा छ। नेपालको समूहमा रहेको अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा रहँदा।

समान १० अंक जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। अंकविहीन चाइनिज ताइपेई पाँचौं स्थानमा छ। छनोट प्रतियोगिताको पहिलो नेपाल कुवेतसँग ७-० ले पराजित भएको थियो भने दोस्रो खेलमा चाइनिज ताइपेईलाई २-० ले हराएको थियो।

तेस्रो खेलमा नेपालले अस्ट्रेलियालाई ५-० र चौथो खेलमा जोर्डनलाई ३-० ले को नतिजा सुम्पिएको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *