दमक, २६ साउन–धानको सुपरजोनको जिल्ला झापामा पछिल्लो समय युरिया मलको अभाव भएको छ ।
विश्व अहिले कोभिड-१९ को अत्यन्त विषम परिस्थीतीबाट गुज्रीरहेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारणले गर्दा नेपाल सरकारले कोरोना भाइरस फैलिन नदिन चैत ११ गतेबाट गरेको बन्दाबन्दी १२० दिनपछि श्रावण ७ गतेबाट अन्त्य भएपनि देश पुर्ण रूपमा सहज तरिकाले खुल्न नसकेको कारण युरिया मलको अभाव खड्किन थालेको छ ।
कोरोना भाइरसको प्रभावका कारण भारतसँगको नाका बन्द भएका कारण मल सहज रुपमा आयातीत हुन सकेको छैन । धान रोपाइँ सकिएसँगै झापामा युरियाको माग ह्वातै बढेको पाइन्छ । तर, मल अभाव भएकाले झापाली कृषक चिन्तित भएका छन् ।
बुद्धशान्ति गाउँपालिका वडा नं ३ का एक कृषक धान बारिमा धान गोड्नलाई तयारी गर्दै थिए । उनले भने-‘रोप्दा जसोतसो मल हालेर रोपे । तर, गोड्ने बेला भो मल पाईएन । गोड्ने बेला नि बिति सक्यो मल नपाएर समस्या भयो’, उनले सुनाए ।
उता, मेचीनगर नगरपालिका वडा नं १२ का कृषक सरकारी अड्डा दैनिक धाउँदा पनि मल नपाएपछि झापाको दक्षिणी भेगबाट दोब्बर मूल्य लगाएर मल किन्न बाध्य भएको गुनासो पोक्छन् ।
यो समस्या बुद्धशान्ति र मेचीनगरका कृषकको मात्र होईन । पछिल्लो समय झापाको अर्जुनधारा, कन्काई तथा अन्य पालिकाका अधिकांश कृषकहरुको साझा समस्या हो । यतिबेला झापामा धानमा हाल्ने मलको अभाव भएको छ । कृषिकहरुले मल किन्न नपाउदा गोड्न लागेको धान खेतिमा मल लगाउन नपाएका हुन् ।
आधिकारिक दर्ता भएर विर्तामोडको कृषि सामाग्री कम्पनीबाट मल ल्याएर विक्री वितरण गर्द आएको बुद्धशान्तिको न्यु कन्चन कृषि सहकारीमा महिना दिन देखी यता मल खोज्नेको भिड लाग्ने गरेको छ । तर बिक्रीका लागी ल्याइने ठाँउमै मल अभाव भएकाले किसानलाई मल दिन नसकीरहेको उक्त सहकारीका अध्यक्ष इश्वरिराज ढकालले बताएका छन् ।
यतिबेला धान उत्पादनको लागि मल अति आवश्यक भएको र प्रदेश १ मात्रै नभएर देशभरि नै मल अभाव भएको बुद्धशान्ति गाउँपालिका कृषिबिकास शाखा प्रमुख कृष्ण ढुंगेलले बताएका छन् । उनले यसबारे सम्बन्धि निकायमा पहल गर्दै गरेको सुनाएका छन् ।
तर, बजारमा रासायनिक मल अभाव भएतापनी झापाका केही पालिकाहरुमा मलको कालोबजारी समेत बढेको छ । समयमा युरिया मल अभाव हुँदा कृषकले सरकारी अड्डा दैनिक धाउँदा पनि मल नपाएपछि दोब्बर सम्म मूल्य लगाएर मल किन्न बाध्य भएका छन् ।
कोरोना भाइरसको प्रभावका कारण भारतसँगको नाका बन्द भए पनि भारतबाट नै आयातीत मल किसानले किन्न बाध्य भएका छन् ।
