गौरादह, २६ साउन–कोरोना भाइरस समुदाय स्तरमा फैलिएको हुन सक्ने भन्दै झापाको गौरादह नगरपालिकाले आजरातिदेखि तीन वटा वडा सिल गर्ने भएको छ । नगरपालिकाको वार्ड नं ६ ,७ र ८ वडा घर भएका आज सशस्त्र प्रहरीसहित ५ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि समुदायस्तरमा भाइरस फैलिएको हुन सक्ने भन्दै जोखिम नियन्त्रणका लागि ती वडा अनिश्चकालका लागि सिल गर्ने निर्णय भएको हो ।

नगरपालिकामा आज बसेको सर्वपक्षिय बैठकले उक्त वडाहरुमा आजराति १२ बजेदेखि लागुहुने गरी पूर्णरुपमा सिल गर्ने निर्णय गरिएको नगर प्रमुख रोहित कुमारसाहले वताए ।

बैठकले वार्ड नं ६, ७ र ८ को प्रगति चौकदेखि उत्तरको सम्पूर्ण क्षेत्र तथा वार्ड नं ५ को स्कुलचौन बजार क्षेत्रमा संक्रमित व्यक्तिहरुको स्वाव परीक्षणको रिपोर्ट नआएसम्मका लागि सिल गर्ने निर्णय गरेको छ ।

गौरादह नगरपालिका वार्ड नं ७ घर भएका २५ र २७ बर्षिय २ जना पुरुष प्रहरीमा कोरोना संक्रमण भेटिएको हो । उनीहरु इलामस्थित सशस्त्र सुरक्षा प्रहरी वल कार्यालयमा कार्यरत रहेका र साउन १५ गते विदा लिएर घर आएका थिए । घर आइपुगेको ५ दिन पछि गत साउन २० गते उनीहरुको स्वाव परीक्षण गरिएको थियो ।

आज सोमवार समेत संक्रमितहरु समुदायमा घुलमिल गरेको पाईएकाले उनको सम्पर्कमा आउने सबैको कन्ट्रयाक ट्रेसिङ्ग गरिएको र मंगलबार स्वाव परीक्षण गरिने स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले बताए । संक्रमित अन्य ३ जना तेस्रो मुलुकबाट आई क्वारेन्टाइनमा बसेका थिए ।

नगरपलिकाको सभाहलमा आकस्मिकरुपमा बोलाएको जनप्रतिनिधि, राजनीतिक दल र उद्योग वाणिज्य संघका प्रतिनिधिसहितको सर्वपक्षिय बैठकले कोरोनाको संक्रमितको जोखिमलाई मध्यनजर गरी जुरोपानी स्वास्थ्य चौकी तथा महारानीझोडा स्वास्थ्य चौकी भवनलाई आइसोलेसनका लागि तयार गरिने नगरपालिकाका प्रशासकिय अधिकृत खेम ओझाले जानकारी दिए ।

गौरादहमा हालसम्म १७ जना कोरोना संक्रमित भएपनि १२ जना निको भएर घर फर्किएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *