काठमाडौं, २६ साउन–सरकारले भदौ १ गतेदेखि सुचारु गर्ने भनेको लामो दुरीका सवारी साधन र हवाई यातायात भदौ मसान्तसम्म बन्द राख्ने निर्णय गरेको छ । सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । भदौ १ गतेदेखि लामो दुरीका सवारीसाधन र हवाई उडान सुरु गर्ने तयारी गरेको भए पनि त्यसलाई पनि रोक लगाइएको छ ।
सरकारले यसअघि गरेको निर्णयअनुसार भदौ १ गतेबाट विद्यार्थी भर्ना लिन सकिने थियो । तर सोमबारको निर्णयअनुसार भदौ १ गतेबाट गर्ने भनिएका सबै काम भदौ मसान्तसम्म लम्ब्याइएको छ ।
“भदौ १ गतेदेखि संचालन गर्ने गरी अनुमति प्रदान गरिएका छोटाmे मध्यम र लामो दूरीमा अन्तरजिल्ला संचालन हुने निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधनहरु, आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडानहरु, प्रशिक्षण खेलकुद, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा संचालनजस्ता कार्यहरु आगामी भदौ मसान्तसम्म स्थगित गर्ने,” सीसीएमसीले सरकारलाई सिफारिस गरेको थियो । सोहीअनुसार निर्णय गरेको एक मन्त्रीले बताए ।
सरकारका प्रवक्ता अर्थ तथा सूचनामन्त्री डा युवराज खतिवडाले मन्त्रिपरिषद् निर्णयका बारेमा मंगलबार जानकारी गराउने बताउँदै मंगलबारदेखि नै कार्यान्वयन हुने कुनै पनि निर्णय नगरिएको जनाए ।
