नयाँदिल्ली, २८ साउन–भारत चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतले एक संसदीय समितिसमक्ष सेना वास्तविक नियन्त्रण रेखा (एलएसी) मा लामो समयसम्म चीनको मुकाबिला गर्न र जाडो याममा पूर्वी लद्दाख क्षेत्रमा तैनाथीका लागि तयार रहेको बताएका छन् ।
‘हिन्दुस्तान’ अखबारमा प्रकाशित समाचारअनुसार सीडीएस र शीर्ष सैन्य अधिकारीहरुले संसदको लोक लेखा समितिसमक्ष एलएसीमा चीनको आक्रमकताका बारेमा जानकारी दिँदै चिनियाँ सैनिक अभ्यासको आडमा भारतको सीमामा संरचनाहरु निर्माण गरिरहेको बताएका छन् ।
सिनजियाङमा तैनाथ सैनिक तीव्र रुपमा भारतीय क्षेत्रमा घूसपैठ गरिरहेको पनि उनीहरुको भनाइ छ । चीनले झन्डै ४० हजार सैनिकलाई यो क्षेत्रको आसपास तैनाथ गरेको थियो ।
भारत र चीनबीच कैयौंपटक छलफल भए पनि केही स्थानमा चीन पूर्णतस् पछाडि हट्न तयार देखिएको छैन । अखबारले स्रोतको हवाला दिँदै सीडीएसले समितिलाई स्थिति सामान्य हुन केही समय लाग्ने पनि बताएको छ ।
