एजेन्सी, २८ साउन–पेरिस सेन्ट जर्मन (पीएसजी) का प्रशिक्षक थोमस टुचेलले एटलान्टाविरुद्धको खेलमा नेयमारको उत्कृष्ट प्रदर्शन रहने विश्वास लिएका छन् ।
ब्राजिलियन स्ट्राइकर नेयमारले आज (बुधबार) राति हुने च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा एटलान्टाविरुद्ध निर्णायक भूमिका खेल्नेमा विश्वस्त रहेको बताएका हुन् । चोटका कारण मैदानबाहिर रहेका नेयमार शीर्ष १६ को दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमन्डविरुद्ध मैदान उत्रिँदै पीएसजीलाई जित दिलाएका थिए । पहिलो लेगमा पछि परेको अवस्थामा पुनरागनम जित दिलाउन नेयमारले महत्त्वपूर्ण खेल खलेका थिए ।
चोटपछि मैदान फर्किंदा लयमा देखिएका नेयमारले अप्रिलमा कोरोना भाइरस महामारीका कारण खेल स्थगित भए पनि खासै खेल्ने अवसर पाएनन् । यता कोरोना भाइरसकै कारण घरेलु लिग वान स्थगित भयो ।
कारोना भाइरसपछि मैदानमा फर्किंदा नेयमार उच्च लयमा देखिएका छन् । उनले पीएसजीलाई थप दुई उपाधि दिलाउन निर्णायक भूमिका खेलेका थिए । त्यस्तै च्याम्पियन्स लिग अघि भएका मैत्रीपूर्ण खेलमा समेत गोल गरेका थिए ।
“मलाई यस्तो लाग्छ कि नेयमारलाई सधैं धेरै दबाब हुन्छ । तपाईं नेयमारमा भएको दबाबको कल्पना गर्न सक्नुहुन्न । तर ऊ यस्तो खेलाडी हो, जसलाई त्यो मन परेको छ र त्यो दबाबसँग खेल्ने बानी परेको छ,” प्रशिक्षक टुचेलले भने, “हामी खुसी छौं कि उनीसँगै केलियन एमबाप्पे पनि मैदान उत्रिने सम्भावना छ । किनकि उनीहरू सँगै धेरै खेल्न चाहन्छन् ।”
प्रशिक्षक टुचेललले पछिल्ला दुई उपाधिले पनि खेलाडीको मनोबल उच्च रहेको बताएका छन् । उनले चार महिना खेलविहीन रहे पनि चार साताको तयारीले टोली पुनरागमनमा फर्किन पर्याप्त भएको बताए ।
