दमक, २८ साउन–झापाको दमक र मोरङको पथरीशनिश्चरेमा रहेका भुटानी शरणार्थीलाई खाद्यन्न वितरण गरिएको छ । कोरोना कहरका कारण रोजगारी गर्न शिविर बाहिर निस्किन नपाएका शरणार्थीलाई तेस्रो देश पुनर्वास भएका भुटानीहरुको सहयोगमा खाद्यन्न वितरण गरिएको हो ।
अमेरिकामा रहेको ‘लभ द लस्ट’ नामक् संस्थाको आर्थिक सहयोगमा दमक नगरपालिका ३ बेलडाँगीस्थित शिविरका एक हजार ६ सय तथा पथरीशनिश्चरे नगरपालिका १० स्थित शिविरमा रहेका ५ सय २२ भुटानी शरणार्थी घरपरिवारलाई राहत स्वरुप एकरएक बोरा चामल वितरण गरिएको हो ।
नेपाल सरकारको चार महिना लामो लकडाउन तथा विभिन्न मितिमा स्थानीय तहहरुले पनि लकडाउन लागू गर्ने गरेकाले भुटानी शरणार्थीहरु रोजीरोटीका लागि शिविर बाहिर निस्किन पाएका छैनन् ।
भुटानी शरणार्थीलाई सहयोग गर्दै आएको विश्व खाद्य कार्यक्रम ९डब्ल्यूएफपी० ले सन् २०१९ देखि नै रासनलगायत सबै सहयोग कटौती गरेको छ । शरणार्थी सम्बन्धि राष्ट्रसंघीय उच्चायोग यूएनएचसीआरले दिदै आएको सहयोगहरु पनि भारी मात्रामा कटौती भएपछि अहिले भुटानी शरणार्थीहरु स्थानीय क्षेत्रमा दैनिक ज्याला मजदुरी गरेर आफ्नो परिवार पाल्दै आएका छन् ।
कोरोना र लकडाउनका कारण शिविर बाहिर निस्किएर काम गर्न नपाएकाले शिविरभित्र भोकमरीको अवस्था सिर्जना हुन सक्ने अवस्था देखेर शिविरभित्रकै अगुवा शरणार्थीहरुको पहलमा सो सहयोग प्राप्त भएको बेलडाँगी शिविरका अगुवा एवं पूर्व शिविर सचिव युवराज साम्पाङ राईले जानकारी दिए ।
अमेरिकाको लभ द लस्टका संस्थापक पूर्ण तामाङले नेपालमा रहेका भुटानी शरणार्थीका लागि २६ लाखभन्दा बढी रकम पठाएका थिए । सो रकमले दमक र पथरी दुवै शिविरका गरी करिब २१ सय घरपरिवारलाई प्रति परिवार २५ केजीका दरले एक-एक बोरा चामल वितरण गरेको खाद्यन्न सहयोग समितिका संयोजक आइतराज गुरुङले जानकारी दिए । सहयोग वितरणका लागि गुरुङको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको थियो ।
