काठमाडौं, २९ साउन–कतारमा आयोजना हुने विश्वकप तथा २०२३ मा चीनमा आयोजना हुने एसियाकपको छनोट खेल पुनः स्थगित गरिएको छ। कोरोना महामारीका कारण अन्तराष्ट्रिय आगमनमा भएको अवरोध र हरेक देशमा बढ्दो कोरोना संकटका कारण एएफसीले २०२१ सम्मका लागि छनोट प्रतियोगिता स्थगित गरेको हो।
एसियन फुटबल कन्फेडेरेसन ९एएफसी० ले बुधबार कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै फिफासँगको छलफलपछि अक्टोबर र नोभेम्बरमा तय गरिएको छनोट खेलहरु स्थगित गरिएको जनाएको छ। एएफसीले छनोट कहिले हुने भनेर नयाँ मिति भने घोषणा गरेको छैन । नयाँ मिति कोरोनाको महामारीको परिस्थिति हेरेर तय गरिने एएफसीले जनाएको छ । छनोटको तयारी सुरु गर्ने क्रममा रहेको नेपालले प्रतियोगिताको दोस्रो चरणमा प्रतिष्पर्धा गरिरहेको छ।
यसअघि नेपालले दशरथ रंगशालामा असोज र कात्तिकमा तीन खेल खेल्ने कार्यतालिका भएपनि अब पुन खेल स्थगनसँगै उक्त कार्यतालिका पछि धकेलिएको छ। यसअघि, एएफसीले असोज २२ गते चाईनिज ताईपेसँग तथा २७ असोजमा अष्ट्रेलियाको सामना गर्ने कार्यतालिका रहेको थियो। यस्तै, समूह चरणको अन्तिम खेलमा नेपालले कात्तिकमा खेल्ने कार्यतालिका रहेको थियो। समूह ’बी’ मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ ।
चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । नेपालले विश्वकप छनोटमा लागि भदौ १ गतेबाट प्रशिक्षण थाल्ने तयारी समेत गरेको थियो । जसको लागि अखिल नेपाल फुटबल संघ एन्फाले खेलाडीको कोरोना परिक्षण समेत गरेको थियो । यसबिचमा नेपालमा बढ्दो कोरोनाका कारण एन्फा प्रशिक्षण के हुने भन्ने अन्योलता कायम रहेको थियो।
