काठमाडौं, २९ साउन–राष्ट्रिय वाणिज्य बैंकले लिने कर्जाको ब्याजदर नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा सस्तो बनेको छ ।
बैंकको आधारदर ६ प्रतिशतभन्दा कम भएकाले समग्रमा ब्याजदर पनि एकल विन्दुमा झरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको आधारदर ६ प्रतिशतभन्दा पनि तल ५ दशमलव ९० प्रतिशत कायम भएको बताए ।
यसमा १ दशमलव २५ प्रतिशत देखि ३ दशमलव २५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा उपलब्ध गराइएको श्रेष्ठले बताए । अधिकतम प्रिमियम जोड्दासमेत बैंकको ब्याजदर ९ प्रतिशतको हाराहारीमा रहेकाले अन्य बैंकहरुको भन्दा ब्याजदान निकै सस्तो भएको बताए । उनले ७ दशमलव २५ प्रतिशत ब्याजदरको घरकर्जा उपलब्ध गराइएको समेत बताए ।
यो कर्जा घर किन्न, घडेरी किनेर घर बनाउन र अन्य बैंकबाट लिएको घरकर्जालाई स्वाप गर्ने सुविधासमेत दिइएको बताए । कोभिड १९ को असरले कर्जाको माग कम भएर गएको र निक्षेपमा चाप नपर्दा लगानीयोग्य रकम बढेकाले निक्षेप र कर्जा दुवैमा ब्याजदर घटेको उनले बताए । उनले नेपालका वाणिज्य बैंकहरुमा सबैभन्दा बढी प्रतिस्पर्धी राष्ट्रिय वाणिज्य बैंक नै रहेको र यसको ब्याजदर पनि अन्य बैंकको तुलनामा न्यून भएको बताए ।
राष्ट्रिय वाणिज्य बैंकको कर्जाको ब्याजदरमा स्थायित्वसमेत रहेको उनको भनाइ छ । छिटो(छिटो ब्याजदर परिवर्तन गर्ने सम्बन्धमा ग्राहकको सुविधालाई ध्यान दिएर परिवर्तन गर्ने गरिएको उनले बताए । कर्जाको माग बढेर जाँदा लगानीयोग्य रकम अभाव हुने र त्यस्तो अवस्थामा निक्षेप बढाउनुपर्ने दबाब हुँदा ब्याजदर स्वतः बढ्न जाने उनको भनाइ छ ।
तर, राष्ट्रिय वाणिज्य बैंकमा त्यस्तो समस्या नरहेको पनि श्रेष्ठले बताए । प्रविधि र जनशक्तिको हिसाबले राम्रो व्यवस्थापन गरिएकाले बैंकको समग्र व्यवसायमा सकारात्मक असर परेको उनले बताए ।
अहिले बैंकिङ प्रणालीमा यसै पनि निक्षेप बढी र कर्जाको माग कम हुँदा अधिक तरलता देखिएको छ । यो अवस्था राष्ट्रिय वाणिज्य बैंकमा पनि छ । पछिल्लो अवस्थामा राष्ट्रिय वाणिज्य बैंकमा कर्जा/पुँजी/निक्षेप अनुपात ६३ प्रतिशत कायम भएको छ ।
यसको अर्थ बैंकमा अझै लगानीयोग्य रकम प्रसस्त छ । त्यसैले कर्जाको ब्याजदर तत्काल हेरफेर हुने सम्भावना नभएको पनि श्रेष्ठले बताए ।
हाल बैंकले सामान्य बचतमा ३ दशमलव ५ प्रतिशत, विशेष बचत, सुनौलो बचतलगायत खातामा रकम जम्मा गर्दा ५ प्रतिशत ब्याजदर दिएको छ । त्यस्तै, अमेरिकी डलर बचतमा १.५ प्रतिशत, युरो र अन्य मुद्रामा शून्य दशमलव ७५ प्रतिशत ब्याजदर छ ।
मुद्दती निक्षेपअन्तर्गत व्यक्तिगतमा ७ प्रतिशत देखि ७ दशमलव २५ प्रतिशत र संस्थागतमा ६ दशमलव ५ प्रतिशतदेखि ६ दशमलव ६ प्रतिशतसम्म ब्याजदर छ ।
