काठमाडौं, २९ साउन–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग नौ दिनपछि भेटघाट गरेका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओलीसँगको भेट लगतै काठमाडौंको थापागाउँ पुगेका छन् ।
ओलीसँग चार घण्टा छलफल गरे लगत्तै नेपाल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु प्रदेश–५ का केन्द्रीय सदस्यहरुसँग छुट्टै छलफलमा जुटेका छन् ।
काठमाडौंको थापागाउँमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रदेश–५ का केन्द्रीय सदस्यहरुलाई पार्टीमा भइरहेको पछिल्लो गतिविधिबारे ब्रिफिङ गराइरहेको स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीसँगको भेट सकारात्मक रहेको र भोलि शुक्रबार फेरि बसेर छलफल गर्ने सहमति गरे लगत्तै प्रचण्ड, खनाल, नेपाल र श्रेष्ठ थापागाउँ पुगेका हुन् ।
काठमाडौंको थापागाउँस्थित प्रेसिडेन्सियल कलेजमा–५ नम्बर प्रदेशका केन्द्रीय सदस्यहरुबीच अहिलेको राजनीति अवस्थाकाबारे ब्रिफिङ भइरहेको जनाइएको छ । ‘भेला भनेर भेला नै त होइन । पार्टीको गतिरोधको विषयमा छलफल हो । समसामयिक विषयमा पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्ने कार्यक्रम छ’, नेपाका सांसद समेत रहेका मेटमणि चौधरीले भने ।
बुधबार गण्डकी प्रदेशस्तरीय यस्तै भेलाको आयोजना भएको थियो । हिजोको भेलामा पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ थिए । आजको भेलामा पनि चारै जना शीर्ष नेता सहभागी हुने स्रोतले जानकारी दिएको छ ।
बिहीबार नौं दिनपछि दुई अध्यक्षबीच भएको छलफलमा सहजीकरणका लागि ओलीका तर्फबाट महासचिव विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डका तर्फबाट जनार्दन शर्मा वार्तामा सहभागी थिए ।
दुई अध्यक्षको आजको वार्ता समस्या समाधानउन्मुख रहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिएका छन् ।
