दमक, ३० साउन–नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेस केन्द्रीय समितिको वर्तमान कार्यशैलीले तोकेको समयमा १४औं महाधिवेशन गर्ने कार्यमा शंका उत्पन्न भएको बताएका छन् ।
झापाको शिवसताक्षी नगरपालिकास्थित दूधेमा सम्पन्न कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नेता सिटौलाले तोकिएको समयमा महाधिवेशन सम्पन्न नभएमा आगामी स्थानीय चुनावमा एकताका साथ पार्टी अघि बढ्न पर्याप्त समय नहुने र नकारात्मक नतीजा हात लाग्नेमा चिन्ता प्रकट गरे । उनले जसरी भएपनि समयमा नै महाधिवेशन सम्पन्न गरी निर्माण भएका प्रत्येक तह र इकाईले पार्टीलाई एक ढिक्का बनाई पूर्ण एकताका साथ कम्युनिष्ट तानाशाही शासनका विरुद्ध लाग्नुपर्नेमा जोड दिए ।
नेता सिटौलाले भने-‘यसअघि भइ गरेका कमिकमजोरीहरु सुधार्दै आगामी दिनमा पार्टीभित्र एक ढिक्का भई वर्तमान सरकारको एकात्मक शैलीको चिरफार गर्नुपर्ने अवस्था आएकाले अब गुटको खेती नर्गन सबैमा आग्रह गर्दछु ।’
त्यस्तै, उनले वर्तमान सरकार दुईतिहाईको भएपनि देश र जनताको हित र राष्ट्र स्वार्थभन्दा कुर्सी मोहमा रुमलिएको र व्यापक भ्रष्टचारलाई बढावा दिने कार्यमा ओली सरकार अभिप्रेरित रहेकाले कम्युनिष्टहरुबाट देश र जनताले उल्लेख्य उपलब्धि हासिल गर्न नसक्ने भएकाले अन्तर्राष्ट्रिय जगतको मन जित्दै राष्ट्रिय हितका लागि नेपाली कांग्रेस एक भएर अघि बढ्नुको कुनै विकल्प नरहेको जिकिर गरे ।
नेता सिटौलाले बर्तमान सरकार सत्ता जोगाउने खेलमा मात्र लागेको, पैसा कमाउने ध्यानमा मात्र केन्द्रित भएको र भ्रष्टचार कसरी गर्ने भन्ने विषयमा मात्र बढी केन्द्रित रहेकाले यो सरकार पूर्ण असफल भइसकेको जनाए । सिटौलाले थपे-‘ओली सरकारले देशका सम्पूर्ण संवैधानिक अङ्गहरुलाई कसरी आफ्नो अनुकुल कसरी बनाउने, विभिन्न आयोगहरुको निष्पक्षतामा कसरी धाँधली गरेर आफ्ना कार्यकर्तालाई भर्तीकेन्द्र बनाउने ? दुईतिहाइ सरकारको दम्भमा प्रहरी र प्रशासनका प्रमुखलाई आफ्नो राजनीतिक कार्यकर्ताको रुपमा कसरी प्रयोग गर्न सकिन्छ ? जस्ता कार्यमा ओली सरकार बिछट्ट लागिपरेको छ ।’
