दमक, ३१ साउन–झापाको दमकमा आज रातिदेखि एक हप्ता लकडाउन हुने भएको छ । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको आज नगरपालिकामा बसेको बैठकले नगरमा समेत संक्रमणको जोखिम बढेको भन्दै आज रातिदेखि भदौ ६ गते राति १२ वजेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउन अवधिमा एम्बुलेन्स, प्रेस,दुधका गाडी बाहेक सबै यातायातका साधनहरु बन्द रहने छन् । दुधका पसलहरु दैनिक बिहान ६ बजे देखी ८ बजे सम्म मात्रै खोल्न पाईने, बैंक, बित्तिय संस्था, फुटपाथका पसल, किराना पसल लगायतका सबै प्रकारका पसल व्यवसाय बन्द रहने नगर उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले जानकारी दिईन् ।
लकडाउनका क्रममा अत्याबश्यक काम बाहेक घर बाहिर निस्कन नपाईने, एम्बुलेन्स बाहेकका सवारी साधनले बिरामी बोक्न परे सम्बन्धित वडाबाट सिफरिस लिनु पर्ने, सिटि सफारी, मोटरसाईकल कुनै सवारी साधन सञ्चालन गर्न नपाईने उनले बताईन् ।
हिजो शुक्रवार दमकमा एकैपटक ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै दमकमा संक्रमितको संख्या २० पुगेको छ । संक्रमितहरु समुदायमा हेलमेल भएकाहरु रहेका र जसकारण समुदायमा कोरोना संक्रमणको जोखिम उच्च बनेको भन्दै उनीहरुको कन्ट्रयाक ट्रेसिङ गरिने उपप्रमुख अधिकारीले बताईन् ।
यसअघि दमक उद्योग बाणिज्य संघले पनि आज राती १२ बजेपछि अत्यआवश्यक बाहेक सबै प्रकारका पसल तथा ब्यवसाय बन्द गर्ने निर्णय गरेको थियो ।
