काठमाडौ, ३२ साउन–युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ। क्वाटरफाइनलको अन्तिम खेलमा गएराति म्यान्चेष्टर सिटीलाई हराउदै लियोन सेमिफाइनलमा प्रवेश गरेको छ।
लिस्बनमा भएको खेलमा लियोनसँग ३–१ ले पराजित हुँदै सिटी प्रतियोगिताबाट बाहिरिएको हो। लियोनको जितका लागि मौसा डेम्बेलेले २ र म्याकसवेल कर्नेटले १ गोल गरे। यस सिजनको सेमिफाइनलमा दुई फ्रेन्च टिम पिएसजी र लियोन पुगेका छन् भने दुई जर्मनी क्लब बायर्न म्युनिख र आरबी लेइपजिंग सेमीफाइनलमा पुगेका हुन्। अब सेमिफाइनलमा पिएसजीले आरबि लेइपजिंगको सामना गर्ने छ भने बायर्न म्युनिखले लियोनको सामना गर्ने भएको छ।
सन १९९०–९१ सिजनपछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा फुटबलको पावरहाउस मानिने स्पेनिस, इङलिश र इटालियन क्लब पुग्न असफल भएका छन्। सो वर्ष सर्बियाँ क्लब रेड स्टार बेलग्रेडले उपाधि जितेको थियो भने बायर्न, रेड स्टार, मार्सेली र स्पार्टक मस्को सेमिफाइनलमा पुगेका थिए।
त्यस्तै सेमिफाइनलमा पुगेका टिम मध्ये बायर्न बाहेक अन्य तीन टिमले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जितेका छैनन्। बायर्नले भने अहिलेसम्म ५ पटक च्याम्पियन्स लिग जितेको छ। पछिल्लो पटक बायर्नले २०१३ मा यो उपाधि जितेको थियो।
