काठमाडौं, ३१ साउन–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारीसँगै पार्टी नेतृत्वका लागि नेताहरुबीच दावेदारी शुरु भइसकेको छ ।

महाधिवेशनबाट नेतृत्व हात पार्नका लागि कांग्रेसमा सभापतिको दावेदारी गर्ने नेताहरुको संख्या पनि थपिंदो छ । महाधिवेशनको तयारी अगाडि बढेपछि अहिले नेताहरु आफूलाई सभापतिको दावेदार भन्दै दौडधूपमा छन् ।

आसन्न महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवाका अतिरिक्त कांग्रेसमा कम्तिमा आधा दर्जन नेताहरूले सभापति पदमै उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । महाधिवेशनको मिति छोटिंदै गइरहेका बेला वर्तमान उपसभापति विमलेन्द्र निधीले पार्टी सभापतिमा दावेदारी प्रस्तुत गरेका छन् ।

निधीले बिहीबार पार्टी सभापति देउवालाई भेटेर आफू सभापतिको उम्मेदवार बन्ने भन्दै सहयोग गर्न आग्रह गरेका छन् । उनले देउवालाई अब पार्टीको अभिभावक बनेर आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका छन् ।

‘तपाईं अब अभिभावक भएर बस्नुस्, म सभापतिमा उठ्छु, सहयोग गर्नस्’, बिहीबारको भेटमा देउवालाई निधीको भनाइ उधृत गर्दै निधी निकट एक नेताले भने, ‘देउवा र रामचन्द्र पौडेलले अब उम्मेदवारी नदिएर त्यसपछिको पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने हिसावले निधी अगाडि सर्नु भएको छ ।’

अब हुने १४औं महाधिवेशनपछि पनि सभापति हुने सम्पूर्ण तयारीमा रहेका देउवाले भने निधीलाई ‘एक पटक आफूलाई सभापतिमा सहयोग गर्न’ आग्रह गरेका थिए । ‘१५ औं महाधिवेशनसम्म त म पनि ७० वर्ष पुग्छु, त्यसैले यसै पटक मलाई छोडिदिनुस्, फेरि पनि तपाई आफैं उठ्ने कुरामा पुनर्विचार गर्नुस्’, निधीको भनाइ उधृत गर्दै ती नेताले सुनाए ।

शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधी, डा। शेखर कोइराला, शशांक कोइराला, गगन थापा, कृष्ण सिटौला, प्रकाशमान सिंह लगायतका नेताहरूले कांग्रेसको सभापति पदमा उम्मेदवारी दिने बताइरहेका छन् ।

पार्टीमा उपसभापति वा महामन्त्रीको सिट सुरक्षित गर्ने रणनीति अन्तर्गत अहिले आफूलाई सभापतिकै उम्मेदवारका रुपमा प्रस्तुत गरेर वार्गेनिङ गर्ने क्रम पनि शुरु भएको छ ।

‘अहिले सभापतिमै उठ्छु भन्ने कति नेताहरूको दाउ उपसभापति वा महामन्त्री बन्ने हो, त्यसका लागि उनीहरू सभापतिबाट वार्गेनिङ शुरु गर्दैछन्’, कांग्रेसका एक जना युवा नेता भन्छन् । तर, यस पटक कांग्रेसका धेरै नेता युवालाई सत्ता हस्तान्तरण हुनुपर्छ भन्नेमा एकमत देखिएका छन् । आजको समयको माग कांग्रेसमा युवा पुस्ता भएको उनीहरुको भनाइ छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *