काठमाडौं, १ भदौं–राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्यांकनको नतिजा सोमबार सार्वजनिक गरेको छ। आज बसेको बोर्ड बैठकले लकडाउनमा रोकिएको एसइई परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुर ९कक्षा १०० का परीक्षा उप(नियन्त्रक महेश्वर शर्माले भर्खरै नतिजा प्रकाशित गरिसकेको जानकारी दिए। उनले भने,‘भर्खरै बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गर्ने निर्णय भएपछि नतिजा प्रकाशित भइसकेको छ।’ विद्यालय आफैँले मूल्यांकन गरेर पठाएको विद्यार्थीको नतिजालाई रुजु गरेर बोर्डले सार्वजनिक गरेको हो।
परीक्षामा सहभागी हुन ४ लाख ८२ हजार ९ सय ८६ जनाले फाराम भरेका थिए। जसमा ४ लाख ७२ हजार ७८ जनाको नतिजा मात्रै प्रमाणीकरण गरिएको छ। सरकारले कोरोना महामारीका कारण यस वर्षको एसइई परीक्षा नगराइ आन्तरिक मूल्यांकनबाट गराउने निर्णय गरेको थियो।
परीक्षा नियन्त्रण कार्यालय (एसइई) ले साताअघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो। त्यही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणि पोखरेलबाट सहमति लिएर परीक्षाफल प्रकाशित गरेको हो। परीक्षाफल प्रकाशित भए पनि १५ गतेसम्म भर्ना गर्न पाइने छैन।
सरकारको निर्देशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्ने भएको छ। यो पटक त्रुटी सच्याउन विद्यार्थीलाई परीक्षा नियन्त्रण कार्यालय आउनुपर्ने व्यवस्था हटाइएको छ।
विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि त्यहीँबाट त्रुटी सच्याएर विद्यालयमा पुयाउने व्यवस्था मिलाइएको छ। नतिजाको विस्तृत विवरण राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा राखिने बोर्डले जानकारी दिएको छ।
