काठमाडौं, २ भदौं–शख्तर डोनेस्कविरुद्ध सानदार जित निकाल्दै इन्टर मिलान युरोपा लिग फुटबलको फाइनल प्रवेश गरेको छ। गएराति सम्पन्न खेलमा इन्टर मिलानले डोनेस्कविरुद्ध ५–० गोलको जित निकालेको हो।
एस्प्रिट एरिनामा सम्पन्न खेलमा इन्टर मिलानको जितका लागि लौटारो मार्टिनेज र रोमेलु लुकाकुले २–२ तथा ड्यानिलो डी अम्ब्रोसियोले १ गोल गरे। खेलको पहिलो हाफमा १ गोलले मात्रै अगाडि रहेको इन्टर मिलानले बाँकी ४ गोल दोस्रो हाफमा गर्यो। १६ औँ मिनेटमा मार्टिनेजको गोलबाट अग्रता लिएको मिलानले अग्रता दोब्बर बनाउन धेरै समय कुर्नु पर्यो।
उसका लागि ड्यानिलोले ६४ औँ मिनेटमा गोल गर्दै खेल २–० को अवस्थामा पुर्याए। त्यसको १० मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दा टोलीको अग्रता ३–० मा पुग्यो। त्यसको ४ मिनेटमै लुकाकुले गोल गर्दै खेललाई ४–० को अवस्थामा पुर्याए। उनैले खेलको ८३ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै इन्टर मिलानलाई ५–० को जित सुनिश्चित गराए।
डोनेस्कलाई पराजित गर्दै फाइनल पुगेको मिलानले उपाधिका लागि २२ अगस्टमा सेभिल्लासँग भिड्नेछ। सेभिल्लाले म्यानचेस्टर युनाईटेडलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
