काठमाडौं, २ भदौं–कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को कच्चा निर्णयका कारण नेपाल आउन लागेका नेपाली दुबई एयरपोर्टबाटै फर्कन बाध्य भएका छन् ।

सरकारले पूर्वसूचना बिना अन्तर्राष्ट्रिय उद्धार उडान स्थगित गरेपछि दुबई एयरपोर्टमा करिब सय नेपाली यात्रु अलपत्र परे । ती यात्रुलाई लिन हिजो (सोमबार) बेलुका दुबई गएको नेपाल एयरलाइन्सको विमानलाई रित्तै फर्काइँदै छ । सीसीएमसीले तत्काल कुनै पनि उद्धारबाट कसैलाई पनि नल्याउन आदेश जारी भएकाले ल्याउन नसकिएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

यता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराई सरकारले निर्णय गरेर नल्याउने भनेकाले नल्याइएको बताए । “सरकारले निर्णय नै नल्याउने गरेको छ, अहिलेको परिस्थितिमा । नियमित उडान जस्तो पनि होइन । चार्टर्ड उडानबाट ल्याउने कि नल्याउने सरकारको निर्णयअनुसार अगाडि बढ्ने हो । त्यहीअनुसार निर्णय भएको हो ।” तर, हतारमा निर्णय गरेकाले एयरपोर्ट पुगिसकेका नेपालीले त दुःख पाए नि रु भन्ने प्रश्नमा उनले भने, “त्यो विषयमा सीसीएमसीलाई नै सोध्‍नू ।”

यता, सीसीएमसीबाट अहिलेको अवस्थामा कसैलाई पनि उद्धार गरी नल्याउन निर्देशन भएकाले सरकारको स्वीकृतिबिना निगमले उनीहरुलाई ल्याउन नसकेको निगम प्रवक्ता अर्चना खड्काले बताइन् । “हामीले सीसीएमसीको यस्तो निर्णय आएलगत्तै सम्पर्क भएसम्मका यात्रुलाई नेपाल फर्कन नपाइने भयो भन्‍ने जानकारी गराएका थियौं,” उनले भनिन्, “सम्पर्क हुन नसकेका यात्रु एयरपोर्ट पुग्‍नुभयो ।”

उनका अनुसार दुबईबाट विमान क्षमताअनुसारै टिकट बुकिङ भएको थियो । निगमले हिजो एक सूचना सार्वजनिक गर्दै काठमाडौं-दुबईको उडान हुने जनाएको थियो । सोहीअनुसार निगमले हिजै २३० यात्रु लिएर दुबई गएको थियो । दुबईबाट पनि नेपाली ल्याउने अन्तिम तयारी निगमले गरेको थियो । तर, सरकारले एक दिनको पनि समय नदिएर विदेशबाट उद्धार कार्य अनिश्चितकालका लागि स्थगित गर्ने कच्चा निर्णयले भने उद्धारको पर्खाइमा नेपाली प्रभावित भएका छन् ।

सीसीएमसीले हिजो दिउँसो मात्रै अहिलेको परिस्थितिमा विदेशबाट उद्धार गर्ने कार्य रोक्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको थियो । तर, गत सोमबारको मन्त्रिपरिषद् बैठकले भने भदौ १ देखि सञ्‍चालन गर्ने भनेको नियमित हवाई सेवा रोक्दै दैनिक पाँच सय संख्या नबढाई विदेशबाट उद्धार गर्ने निर्णय गरेको थियो । सोही सरकारको निर्णयपछि नेपाल आउन आतुर नेपाली उद्धारको पर्खाइमा थिए ।

हिजो २३० यात्रु लिएर दुबई पुगेको निगमको विमान उताबाट रित्तै फर्कंदै छ । तर, एयरपोर्ट पुगिसकेको नेपाली भने आउन पाएनन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *