काठमाडौं, २ भदौं–सुनको भाउ फेरि लाख रुपैयाँ कटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (मंगलबार) का लागि सुनको भाउ तोलाको एक लाख ४ सय रुपैयाँ कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै त्यसको असर स्थानीय बजारमा पनि परेको हो ।
हिजो (सोमबार) को तुलनामा आज एकैदिन तोलामा २ हजार २ सय रुपैयाँले सुनको भाउ बढेको हो । छापावाल सुन हिजो तोलाको ९८ हजार २ सय रुपैयाँ कायम गरिएको थियो ।
यस्तै, तेजाबी सुनको भाउ पनि बढेर ९९ हजार ९ सय रुपैयाँ पुगेको छ । सोमबार तोलाको ९७ हजार ७ सय रुपैयाँ थियो ।
यसैगरी, चाँदीको भाउ पनि एकै दिन तोलामा ६५ रुपैयाँले बढेको छ । सोमबार तोलाको १३ सय १५ रुपैयाँ कायम भएको चाँदी मंगलबार बढेर १३ सय ८० पुगेको महासंघले जनाएको छ ।
यो साताको आइतबार र सोमबार घटेको सुनको भाउ मंगलबार ह्वात्तै बढेको छ । दुई दिन २र२ सय रुपैयाँका दरले घटेको थियो ।
