काठमाडौं, ४ भदौं–हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको अघिल्लो दिन आज, महिलाहरुले दर खाँदैछन्। मीठा मीठा परिकारका साथ आज दर खाने चलन छ।
आजको दिनमा टाढा रहेका चेलीबेटी बोलाएर दर खुवाउने गरिन्छ। तर यसपटक कोरोना भाइरस संक्रमणको जोखिमका कारण देशका अधिकांश स्थानमा निषेधाज्ञा र लकडाउन गरिएकाले यसवर्ष चेलीबेटीले आ–आफनै घरमा दर खाएर तीज मनाउँदैछन्। खीर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मीठा परिकारलाई दरको रुपमा खाने प्रचलन छ।
दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ। भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले अघिल्लो साँझ पौष्टिकतत्व भएको खानेकुरा दरका रुपमा खाने गरिएको हो।
हरितालिका तीजका बेला पानीसमेत नखाई ब्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुने गर्दछ। त्यसैले दर खाने चलन बसेको बताइन्छ।
परापूर्वकालमा देवी पार्वतीले शिवलाई पतिको रुपमा पाउन निराहार ब्रत बसेको र कामना पुरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहिताहरूले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै भोलि ब्रत बस्ने चलन रहेको छ।
