दमक, २१ असोज–सरकारले दसैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर आजदेखि झापासहित ४२ जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ।
सरकारले चाडपर्वको बेला नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशका ४२ जिल्लाका ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले सञ्चालमा ल्याएका सुपथ मूल्य पसल आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ ।
झापासहित काठमाडौं, मोरङ, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला र महेन्द्रनगरमा पनि सुपथ मूल्यका पसल सञ्चालन हुनेछन्।
सुपथ मूल्यका पसलबाट उपभोक्ताले चामल, दाल, गहुँ, आटा, पीठो, र सबै प्रकारका तेलमा प्रतिकिलो-प्रतिलिटर सात रूपैयाँ तथा कर्णालीको सिमी, फापर, चिनो, कागुनो र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट पाउनेछन् । सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ। साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड रुपैयाँ छुट्याएको छ ।
साल्ट ट्रेडिङले चिनी प्रतिकिलो ९७ मा बिक्री सुरु गरेको छ। साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिएको छ । दुग्ध विकास संस्थानले घीउमा प्रतिकिलो २०, पनिर प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिने जनाएको छ ।
