काठमाडौं, ४ भदौं–प्रधानमन्त्री केपी शर्मा ओलीले गत साता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवाद यही सोमबारसम्म अन्त्य हुने बताए। ओलीले डेडलाइन तोके लगत्तै शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक साता लामो गतिरोधको अन्त्य गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगे।

शुक्रबारको छलफलमा पार्टीभित्रको समस्या समाधानका विकल्पका बिषयमा ओली दाहालबीच छलफल भयो। पटक पटकको वार्ता असफल भएपछि अध्यक्ष दाहालले शुक्रबार प्रधानमन्त्री ओलीसँग कार्यदल बनाएर समस्या समाधान गर्ने प्रस्ताव अघि सारे।

दाहालको प्रस्तावमा ओली सकारात्मक थिए, शनिबारको महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल नै गठन भयो। पौडेलको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरूमा भीम रावल, जनार्दन शर्मा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र पम्फा भुसाल सदस्य रहेको कार्यदलले काम पनि थालिसकेको छ। अध्यक्षद्वयले कार्यदल गठन गरेपछि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता श्रेष्ठले सचिवालयबाट अनुमोदन गराउन आइतबार खुमलटारमै पुगेर दबाब दिए।

सोमबार सचिवालय बैठक राखेर कार्यदल अनुमोदन भएको छ। कार्यदल अहिले पार्टीभित्रको विवाद समाधानका लागि मध्यमार्गी बाटो खोजिरहेको छ। पार्टीभित्रको शक्ति संघर्षका क्रममा तीनै पक्षका नेताहरुको सहभागितामा गठित कार्यदलले उपाध्यक्ष वामदेव गौतमले गरेको प्रस्ताव आसपासमै छलफल भइरहेको स्रोतले बतायो।

उपाध्यक्ष गौतमले पार्टीभित्रको तिक्तता चिर्नका लागि ओलीले पूरै कार्यकाल सरकारको नेतृत्व गर्ने र अध्यक्ष दाहालले कार्यकारी अध्यक्षको जिम्मेवारी दिनेसहितको ६ बुँदे प्रस्ताव अघि सारेका थिए। यद्यपी, गौतमको प्रस्तावले ओली पक्षलाई फाइदा पुगको भन्दै उनकै निकटस्थरुले प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए। तर, उनी कुनै गुटमा नलाग्ने भन्दै आफ्नो अडानबाट पछि हटेनन्।

ओलीको राजीनामाबाट ‘ब्याक’

ओलीबाट सरकार र पार्टी दुवै प्रभावकारी ढंगबाट सञ्चालन भएको भन्दै अध्यक्ष दाहालसहित वरिष्ठ नेता नेपाल, खनाल, उपाध्यक्ष गौतम, प्रवक्ता श्रेष्ठलगायतका नेताहरुको स्थायी कमिटीको बैठकमै ओलीले राजीनामा दिनुपर्ने बताएका थिए। ओली दुवै पदबाट टसमस नहुने तर, पार्टी विभाजनसम्म जानसक्ने अवस्था देखिएपछि अध्यक्ष दाहाल नेपाल समूह यतिबेला राजीनामा मागबाट ब्याक भएको छ।

पार्टीभित्रको विवाद समाधानका लागि तत्काल ओलीले दुवै पदबाट राजीनामा दिनु पर्दैन अध्यक्ष दाहालले बुधबार एक टेलिभिजनसँगको अन्तर्वाताका क्रममा भने। ‘पार्टीभित्रको विवाद समाधानका लागि कार्यदलले काम गरिरहेको छ। पार्टीको अबको ध्यान महाधिवेशनमा केन्द्रीत हुन्छ। त्यहाँबाट हामी सहमतिमा अघि बढ्छौँ’ उनले भनेका छन्, ‘अहिलेको लडाइँ पदको लागि होइन। पदको लागि यस्तो लडाइँ हुन्थ्यो भने पार्टी एकता नै हुने थिएन।’

‘कार्यदलले अहिले सुझाव संकलन गरिरहेको छ। कार्यदलको सुझाव आएपछि स्थायी कमिटीको बैठकमा छलफल हुन्छ। सकारात्मक ढंगले सरकारको काम र पार्टीको काम अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छौँ’, दाहालले भने, ‘कार्यदलले प्रस्ताव ल्याएपछि सचिवालय, स्थायी कमिटीमा छलफल हुन्छ। त्यसपछि केन्द्रीय कमिटीमा गएर महाधिवेशनको योजना बन्छ, बन्नुपर्छ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *