माइधार (शिबसताक्षी), ५ भदौं–कनकाई नदीको बाढीले घर-खेत बगाएर घरबार बिहिन भएकी झापा शिवसताक्षी–१० सुकुमबासाी गाउँकी तारा शेर्माको घर निर्माण सुरु भएको छ । शिवसताक्षी नगरपालिकाले घर निर्माणका लागि जग्गा उपलब्ध गराएपछि मेची अभियानले तारा शेर्माको घर निर्माण सुरु गरेको हो ।
मेची अभियानका संयोजक विजय डालमियाका अनुसार तिहार अघिनै तारा शेर्मा ३ कोठाको आरसीसी एटेच शौचालय र बाथरुम भएको घरमा आफ्ना तीन छोरा छोरीका साथ बसाईसरी जाने छन् । उनको घर ७ लाखको लागतमा निर्माण हुने छ ।
असार १२ गते पुर्वी भुभागमा आएको अबिरल वर्षाका कारण कनकाई नदिमा आएको बाढीले तारा शेर्माको घर खेत बगाएको थियो । प्रहरी, रेडक्रसकर्मी र स्थानीयबासीन्दाले शेर्माको परिवारलाई तत्काल उद्धार गरेर अस्थाई छाप्रामा राखेको थियो ।
अभियानका संयोजक डालमियाले भने-‘हामीले स्थानीय पालिकाले तारा शेर्माको लागि जग्गा दिने भए त्यसमा मेची अभियानले घर निर्माण गर्ने भनेका थियौं ।’ मेची अभियानको प्रस्तावलाई शिवसताक्षी नगरपालिकाले सकरात्मक प्रस्ताव भनेपछि तारा शेर्माकालागि घर निर्माण शुरु गरिएको हो ।

पतीको २ वर्ष अघि निमोनियाका कारण मृत्यु भएपछि तीनवटा छोरा छोरीलाई पढाउने हुर्काउने जिम्मा तारा शेर्माको काँधमा आईलागेको थियो । श्रीमान् रहुन्जेल दैनिक ज्याला मजदुरी गरेर उनले आफ्ना परिवारको गुजारा चलाउदै आएकी थिईन् । जब, श्रीमान्को मृत्यु भयो । अनि तारा बेसाहारा भईन् । उनको घरको चुलोमा आगो बल्न छोड्यो । काखमा नानी भएकाले काम गर्न जान सकेकी थिईनन् । घर बाहिर उनले काम नगरेपछि अन्नपात पनि घरसम्म आउन सकेन ।
छोरा-छोरी र आफ्नो विहान बेलुकाको छाक टार्ने उनको एउटै विकल्प बन्यो, हात थाप्ने । माईखोलामा पुजा गर्न आएकाले दिएको चामल र केहि रुपैयाँले उनका छोरा छोरीले आत भरिने गरि खान पाए । बिहान घरबाट एउटा बोरा लिएर आउथिन । त्यै बोराको एक कुनामा उनि बस्थिन् । काखमा सानो छोरा हुन्थ्यो । सबैले त्यै दुदेबालक र आमाको अवस्था हेरेर ल्याएको अन्न र केहि रुपैयाँ दिन्थे । उनले भनिन् ‘सातामा मंगलबार र शनिबार धेरै तिर्थालु आउथे । उनिहरुले दिएको चामलले घरमा भात पाक्थ्यो । साग सब्जीका लागि थापेकै केही चामल बेच्थे ।’
शेर्माले जसो-तसो मागेर भएपनि गुजारा चलाउदै आएकी थिइन् । कोभिड १९ का कारण मुलुक ०७६ चैत ११ देखि लकडाउन भयो । त्यसको मार सबैभन्दा धेरै तारा शेर्मा जस्ताको परिवारलाई पर्यो । कनकाई नदिमा पूजा गर्न सर्वसाधरण आउन लकडाउनले रोकेपछि त्यसको असर उनको भान्सा कोठा सम्म पर्यो । सरकारले ७ दिनका लागि दिएको राहत संचित गर्दे दुखले शेर्माले १० दिन सम्म पुर्याइन् । दोश्रो पटकको राहत पनि पाईनन् शेर्माले । त्यो राहत पनि त्यतिनै अवधि सम्म बचाएर खाईन् ।
खानलाई जसोतसो चल्दै थियो । फेरी कनकाईको बाढी उनका लागि अभिशाप बन्यो । घाम पानि छेक्ने घर थियो । बाढीले बगायो । त्यसपछि उनको बास खुला आकास मुनीको त्रिपाल टाँघेको छाप्रामा पुग्यो । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले भने-‘पत्रकारले उठाएको बिषयले अति विपन्न बर्गकी एक निरिह महिला र उनका अवोध छोरा छोरीले बस्नका लागि घर पाउने भए ।’
साबिकको सतासीधाम ८ माईधारमा पती शेरबहादुरसंगै ०६६ सालमा तारा शेर्मा बसाई सरी आएकी थिइन् । उनको नागरिक्ता मोरङ्गको तत्कालिन राजघाटबाट बनेको थियो । राजघाटमा उनिहरु पाँचथरको माङजाबुङबाट आएका थिए । शेर्मा सतासीधामको डुडामारीमा कामदारको रुपमा एउटा घरमा २ वर्ष बसेका थिए ।

