दमक, ५ भदौ–झापाको दमकमा एक जनासहित आज झापामा ७ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा ५ महिला रहेका छन् । दमकमा संक्रमित हुनेमा एकजना स्थानीय शिक्षक रहेका छन् ।
दमक–१ निवासी बोर्डिङ स्कूलमा कार्यरत रहेको दमक नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत नगेन्द्र भट्टराईले बताए । उनले भदौ ३ गते १९६ जनाको पिसिआर टेष्ट गर्दा आज एकजनाको रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।
बिर्तामोड नगरपालिका वडा नं ३ बस्ने दुई महिलामा संक्रमण पुष्टि भएको हो । उनीहरु भारतबाट फर्केर कंचनजंघा हेल्थ साइन्स सेन्टर क्वारेन्टाइनमा बसेको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए ।
त्यस्तै, मेचीनगरमा तीन महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु भारतबाट फर्केर सामुदायिक भवन क्वारेन्टाइनमा बसेको मेचीनगर नगरपालिकाका स्वास्थ्य शाखाका बद्री बरालले बताए ।
