काठमाडौं, ६ भदौं–कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर औषधि तीनवटा भारतीय फर्मासिटिकल कम्पनीले नेपाललाई उपलब्ध गराउने भएका छन् ।
तीनवटा भारतीय कम्पनी माइलान, सिप्ला र हेटेरो ड्रगले नेपालको माग बमोजिम औषधि उपलब्ध गराउने भएका छन् । औषधी विभागका महानिर्देशक नारायण प्रसाद ढकालले भने, ‘हामीलाई तीनवटा कम्पनीले हाम्रो माग बमोजिम रेम्डेसिभिर औषधि उपलब्ध गराउने छन् । हामीले यी दिनवटा कम्पनीबाट आएको रेम्डेसिभिर औषधिमात्र प्रयोग गर्न अनुमति दिएका छौं ।’
ती तीनवटा कम्पनीमध्ये माइलानले उक्त एन्टिभाइर औषधीको सप्लाइ सुरु गरिसकेको छ । महानिर्देशक ढकालले भने, ‘हामीले सुरुआतमा ५७० भायल रेम्डेसिभिर माग गरेका थियौं, त्यो औषधी पुगिसकेको छ । भारतीय औषधि चाँडै र सहजरुपमा उपलब्ध हुनसक्ने र मूल्य पनि कम पर्ने भएकोले हामीले भारतबाटै रेम्डेसिभिर ल्याउने प्रतिबद्धता गरेका हौं ।’
आईसीयूमा भएका कोरोना संक्रमितका उपचारका लागि सफल मानिएको रेम्डेसिभिर नेपालमा उत्पादन हुँदैन ।
महानिर्देशक ढकालले भने, ‘एक भायल रेम्डेसिभिर औषधि नेपाली बजारमा आइपुग्दा लागि ७ हजार ८०० नेपाली रुपैयाँ पर्छ । यसले परिवारको थप खर्चमा कटौती गर्नेछ ।’
अमेरिका, युरोप र भारतमा यसको प्रयोगमा सफलता देखिएपछि नेपालमा पनि यसको प्रभावकारिताबारे अध्ययन गरिएको थियो ।
