सविता उप्रेती

काठमाडौँ, १० मंसिर—नेपालमा अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय काम गरेबापत अभियन्ता सविता उप्रेतीलाई यस वर्षको अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार प्रदान गरिने भएको छ । भारतीय मानवअधिकार परिषद्ले मानवअधिकार र शान्तिका लागि योगदान पुर्‍याउनेमध्ये एकलाई सन् २०१५ देखि पुरस्कृत गर्दै आइरहेको छ ।

सवितालाई अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार
उप्रेतीलाई अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका दिन डिसेम्बर १० मा नयाँदिल्लीमा पुरस्कार प्रदान गर्ने परिषद्ले जनाएको छ । संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्दै मानवअधिकार, श्रम अधिकार र सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेको परिषद्ले हालै पुरस्कारबारे पत्र पठाएको उप्रेतीले बताइन् ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रत्येक वर्ष संसारभर बालबालिकामा अटिजम रोग बढ्दो मात्रामा देखिएको भन्दै यसका लागि स्वास्थ्य सावधानी अपनाउन अपिल गर्दै आएको छ ।

शरीर स्वस्थ र पूर्ण भए पनि मस्तिष्कको पूर्ण विकास नभई बालबालिकाको जन्म हुने रोग अटिजम हो । अटिजम लागेका बालबालिकालाई पढाउने कुनै विशेष विद्यालय, संयन्त्र र जनशक्ति नभएको समयमा २२ वर्षकी उप्रेतीले १३ वर्षअघि यस क्षेत्रमा काम गर्न थालेकी थिइन् ।

अटिजम भएका बच्चालाई पढाउन २०६७ मा खोलेको ‘स्पेसल स्कुल फर डिसएबल्ड एन्ड रिहाबिलिटेसन सेन्टर’ बाट ४ सयभन्दा बढीले सेवा पाइसकेका छन् । अहिले उनको विशेष विद्यालयको नरेफाँट, ताथली र गोठाटारमा तीन शाखा छन्, जहाँ ६० विद्यार्थी पढ्छन् ।

युवा उमेरबाटै अथक रूपले अटिजम भएका बालबालिकाका लागि नेपालमा अभियान सुरु गरेर सामाजिक जागरण ल्याएको र धेरैको जीवनमा फरक पारेको हुनाले उप्रेतीलाई अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार दिने निर्णय गरिएको परिषद्ले जनाएको छ । परिषद्ले सुरुको वर्ष दलाई लामालाई मानवअधिकार पुरस्कार दिएको थियो ।

बालबालिकाको शिक्षाका लागि काम गरेबापत नोबल पुरस्कार पाएका भारतीय अभियन्ता कैलाश सत्यार्थीदेखि संसारभरका मानिसलाई ध्यान सिकाएर शान्ति स्थापनामा सघाएको भनेर थाइल्यान्डका प्रसिद्ध बौद्ध भिक्षु फ्र्रा थेप्परियातिसुत्थीसम्मलाई परिषद्ले मानवाधिकार पुरस्कार प्रदान गरिसकेको छ ।

उप्रेती यो पुरस्कार पाउने पहिलो नेपाली हुन् । एसियाका प्रतिष्ठित मानिसहरूले पाउँदै आएको पुरस्कार आफूलाई दिइन लागेको खबरले खुसी लागेको उप्रेतीले बताइन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *