विर्तामोड, ६ भदौं–झापाको विर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले दुर्लभ शल्यक्रिया गरेको छ । दशलाख मानिसमध्ये एक जनामा मात्र देखिने ‘एड्ड्रोनल मास’को सफल शल्यक्रिया गरेको अस्पतालका सर्जन डा.वाशुदेव बास्कोटाले जानकारी दिए ।
शनिबार अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दै डा.बास्कोटाले दुर्लभ प्रकारको शल्यक्रिया गर्न अस्पताल सफल भएको बताए ।
‘फोक्सो, ठूलो आन्द्रा, प्याङ्क्रियाज र मुटु नजिकै पलाएको ट्यूमरलाई ‘एड्ड्रोनल मास’ भन्ने गरिएको छ,’ डा बास्कोटाले भने, ‘यो रोगको शल्यक्रिया गर्दा बिरामी बचाउन निक्कै कठिन हुन्छ ।” मोरङको पथरी शनिश्चरे नगरपालिका निवासी वविता माझीको सफल शल्यक्रिया भएको थियो ।
पेट दुख्ने, बान्ता हुने, ज्वरो आउने, ढाड दुख्नेलगायतका लक्षण देखिएपछि तीन महिना अघि पूर्वाञ्चल क्यान्सर अस्पताल आएकी माझीलाई ‘एड्ड्रोनल मास’ भएको पुष्टि भएपछि अस्पतालले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएको थियो ।
पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले जटिल शल्यक्रिया भए पनि चिकित्सकको मेहनत र उच्चस्तरीय प्रविधिका कारण उपचार सम्भव भएको बताए ।
माझीको उपचारमा चार लाख रुपैयाँ खर्च भएको बताइएको छ । यसैबीच, बिर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेजमा कोरोना संक्रमित बिरामी फेला परेको भन्दै अफवाह फैल्याएको अस्पतालले जनाएको छ ।
आइसोलेसनमा रहेका एक जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको र उनलाई उपचारका लागि कोशी अस्पताल पठाइएको अस्पतालले जनाएको छ ।
