काठमाडौं, ६ भदौं–दुई साता अगाडि निर्माण घोषणा गरेका निर्देशक दीपेन्द्र के खनालले चलचित्र ‘चिसो मान्छे’को रिलिज डेट तोकेका छन् । ०७८ भदौ ११ गते चलचित्र रिलिज गर्ने उनले बताएका छन् ।
निर्देशनसँगै उनले चलचित्रको कथा पनि आफैं लेख्ने छन् भने छायांकन पनि स्वयंले गर्नेछन् ।
चलचित्र ‘चिसो मान्छे’ सामाजिक विषयबस्तुमा आधारित हुने दीपेन्द्र बताउँछन् । ‘चिसो मान्छे’ को कथा उनले अहिले लेखिरहेका छन् ।
‘चिसो मान्छेको स्क्रिप्टमा काम गरिरहेको छु । अवस्था सहज हुन बित्तिकै फ्लोरमा जाने हाम्रो तयारी हो,’ दीपेन्द्र भन्छन्, ‘मेटाफोरिक रुपमा नामलाई उठाएको छु । हामी हरेक व्यक्ति अहिले चिसो हुँदै गएका छौं, यसलाई चलचित्रमा भन्ने छु ।’
‘चिसो मान्छे’ निर्माण घोषणा गर्दा उनले ‘लकडाउन’ पनि निर्माणको घोषणा गरेका छन् ।
दुबै चलचित्रमा सर्मिला पाण्डेले लगानी गर्ने छिन् । स्क्रिप्ट फाइनल भएपछि कलाकार अनुबन्द गरिने दीपेन्द्रले जानकारी दिए । अघिलो वर्ष उनको चलचित्र ‘आमा’ रिलिज भएको थियो ।
