एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ, २७ मंसिर–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले गत असोजमा सम्पन्न भएको ‘समाजवादी जागरण अभियान’ ले समाजमा नयाँ तरंग सिर्जना गरेको बताउनु भएको हो।

सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा अभियानमा खटिएका स्वयंसेवकलाई सम्मानार्थ आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो।

स्वयंसेवक सञ्चालन कमिटीका संयोजक विष्णु लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष नेपालले भन्नुभयो, ‘नेपालमा पहिलो पटक हाम्रो पार्टीले समाजवादी जागरण अभियान सम्पन्न गरेका छौं। उक्त अभियान हाम्रो पार्टीले सञ्चालन गरेको भएपनि अन्य पार्टीलाई पनि तरंगित बनाएको छ। खासगरी नेपालको राजनीति नै तरंगित बनाएको छ।

हामीले घोषणा गरेको कार्यक्रम एमालेले टिपेर हिड्यो

अध्यक्ष नेपालले राम्रो कामको अरूले पनि अनुसरण गर्न सक्नछन् भन्दै एकीकृत समाजवादीले अघि सारेको कार्यक्रम एमालेले टिपेर हिडिरहेको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘राम्रो कामको अरुले पनि अनुसरण गर्छन्। राम्रो कामको कोही कसैले अनुसरण गर्छन् भने त्यो हाम्रा निम्ति राम्रो कुरा हो । हाम्रो पार्टीलाई हेयको दृष्टिकोणले हेर्ने, जोसँग हाम्रो ठूलो अन्तरविरोध छ, त्यहि पार्टीले हामीले घोषणा गरेको कार्यक्रम टिपेर हिडिरहेको छ।’

समाजवादी जागरण अभियानका क्रममा खटिएका स्वयंसेवकलाई धन्यवाद दिदै पार्टीको सिद्धान्त र विचारप्रति कटिवद्ध भएर लाग्न अध्यक्ष नेपालले निर्देशन दिनुभयो।

उहाँले भन्नुभयो, ‘जागरण अभियानका क्रममा साथ दिनुभएका सबै स्वयंसेवकलाई धन्यवाद दिन चाहान्छु। हामीले सम्पन्न गरेको अभियानमा केही गल्ति भएका छन्। केही सिक्नुपर्ने छ। विगतबाट पाठसिक्दै हामी अगाडि बढ्नुपर्छ।’

समाजवादी जागरण अभियानलाई जनताले सकारात्मक रूपमा लिएको बताउदै अध्यक्ष नेपालले भन्नुभयो, ‘हामीले सम्पन्न गरेको समाजवादी जागरण अभियानलाई सकारात्मक रूपमा लिएका छन्। राजनीतिक क्षेत्रमा पनि हामीले सुरू गरेको अभियानको प्रशंसा भएको छ। हामीले अरूको प्रशंसा सुन्ने हो । तर, हामीले गरेका कामहरूको गहिरो समिक्षा गर्नुपर्छ। हामीले तय गर्ने मञ्च, हामीले प्रयोग गर्ने सडक, सुरक्षा आदीका बारेमा हामीले सचेतता अपनाउनुपर्छ। राम्रा कुरालाई फैलाउने र कमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुपर्छ।’

मनव जीवनका निम्ति आहारा पहिलो कुरा भएको बताउदै अध्यक्ष नेपालले खाना स्वच्छ, स्वस्थ र सफा हुनुपर्नेमा जोड दिनुभयो। उहाँले अभियानका क्रममा धेरै मानिसहरूलाई सँगै खाना बनाउनुपर्ने भएका कारण भान्छा सफा राख्नुपर्ने बताउनु भयो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *