बिर्तामोड, ७ भदौ–सुनसरीको कोशी गाउँपालिका–२ का वडाअध्यक्ष हिरालाल यादवको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको छ । शनिबार हृदयघात भएका ४५ वर्षका यादवलाई भेन्टिलेटरको खोजीमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हुँदै बीएण्डसी अस्पताल बिर्तामोडसम्म पुर्याइएको थियो । तर, समयमा भेन्टिलेटर नपाइएका कारण मृत्यु भएको कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारीले जानकारी दिए ।
‘धरानमा जाँच गराउँदा भेन्टिलेटर चाहिन्छ भन्यो’ अन्सारीले भने ‘धरानमा भेन्टिलेटर खाली थिएन, विराटनगरका अस्पतालले पनि छैन भनेपछि विर्तामोड पुर्याइयो । तर उपचार हुन पाएन ।’
धरानबाट एम्बुलेन्समा बिर्तामोड पुर्याइएका यादवको मुटुको भल्वमा ब्लक भएको देखिएपछि बीएण्डसीले सुविधासम्पन्न अस्पताल लैजान भन्यो । बीएण्डसीमा उपचार नहुने भएपछि फर्काउदै गर्दा बाटोमै मृत्यु भएको हो ।
