काठमाडौं, ८ भदौं–समुदाय स्तरमै काठमाडौंमा कोरोना संक्रमण फैलिसकेको छ। कोरोना नियन्त्रण गर्न केन्द्र सरकार र स्थानीय सरकारको भूमिकामाथि प्रश्न उठिरहेको पनि छ। तर, कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले केन्द्र र स्थानीय सरकार दुवैलाई कोरोना नियन्त्रणका लागि झकझकाउँदै आइरहेका छन्।

अघिल्लो हप्ता मात्रै बुढानिलकण्ठ नगरपालिकामा कोरोना नियन्त्रणको विषयमा छलफल गरेका थापाले आइतबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य लगायतसँग छलफल गरेका छन्। छलफलमा थापाले छ वटा बुँदामा सुझाब दिएको बताएका छन्। ‘कोरोना महामारी रोकथाम र नियन्त्रणमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी छ।

पछिल्ला दिनमा काठमाडौँमा तीव्र रूपमा संक्रमण फैलिएको महानगरपालिकाले अग्रसरता लिएर कन्ट्याक्ट ट्रेसिङ, परीक्षण र आइसोलेसन लगायतको प्रभावकारी व्यवस्थापन गर्नसके यो गतिलाई धेरै हदसम्म न्यून गर्न सकिन्छ,’ थापाले फेसबुकमा लेखेका छन्, ‘बढ्दो संक्रमणलाई रोक्न महानगरले तत्काल गर्नुपर्ने कामका सन्दर्भमा हिजो कामनपा कार्यालयमा गएर कामनपा प्रमुख र महानगरका स्वास्थ्य विभागका प्रतिनिधि लगायतसँग छलफल गरी देहायका कुरामा ध्यानाकर्षण गरेको छु।’ उनले कोरोना संक्रमणको उच्च जोखिममा रहेको काठमाडौंलाई दुर्घटनाबाट महानगरपालिकाले लिने अग्रसरता र प्रभावकारी व्यवस्थापन महत्वपूर्ण रहेको पनि बताए।

थापाले महानगरलाई आफूले सहयोग गर्ने र महानगरपालिकाले सबै तह र निकाय गर्नुपर्ने बताएका छन्। ‘उच्च जोखिममा रहेको काठमाडौँलाई दुर्घटनाबाट बचाउन महानगरपालिकाले लिने अग्रसरता र प्रभावकारी व्यवस्थापन महत्त्वपूर्ण छ। हामी सबै सहयोग गर्न तयार छौँ।’ उनले भने, ‘सबै तह र निकायसँग समन्वय गर्नुहोस्। महानगरको संरचनालाई गतिशील बनाउनुहोस्। आवश्यक स्रोत र जनशक्ति परिचालन गर्नुहोस्। नागरिकको सुरक्षा नै हामी सबैको पहिलो प्राथमिकता हो।’

यस्तो छ थापाको सुझाब

१, ‘काठमाडौँबाट प्रतिनिधित्व गर्ने संघीय र प्रादेशिक जनप्रतिनिधिसंग नियमित संवाद र समन्वय गरी आवश्यक सहयोग लिनुस्। हामी सँगै काम गर्न चाहान्छौँ। तपाईँ सफल हुनु भनेको हामीले प्रतिनिधित्व गर्ने नागरिक सुरक्षित हुनु हो, त्यसैले नियमित रूपमा समन्वय गर्नुहोस्।

२, महानगरभित्र कन्ट्याक्ट ट्रेसिङ ढिला छ, त्यसमाथि साँघुरो रहेको छ, जसले हामीलाई झन् समस्याग्रस्त बनाउँछ। यसलाई चुस्त बनाउन अहिलेको जनशक्ति अपुग हुन्छ। यसलाई प्रभावकारी र चुस्त बनाउन तथा आवश्यक जनशक्ति थप गर्न।

३, कन्ट्याक्ट ट्रेसिङबाट आएकाको पनि परीक्षण भइरहेको छैन। यी सबैको टेस्ट वार्ड र टोलमै गर्ने व्यवस्था मिलाउन र परीक्षणको मात्रा बढाउन तथा व्यवस्थित बनाउन।

४, अस्पतालको तयारी र व्यवस्थापन संघीय सरकारको दायित्व हो तर आइसोलेसनको जिम्मा स्थानीय सरकारले गर्नुपर्छ । काठमाडौँका अन्य नगरपालिकासँग सहकार्य गरी तत्काल मापदण्ड बमोजिमका सामुदायिक आइसोलेसन सेन्टरहरू कुनै प्रयोगमा नआएको भवनहरू लिएर तत्काल सुचारु गर्न।

५, खाद्यान्न पसल दिनको १–२ घण्टा मात्र खोल्न दिँदा झन् भिडभाड बढ्ने हुन्छ। त्यसैले पसल बिहान ६ देखि राती ८ सम्म खोल्नुपर्ने, सामान किन्न स्थानीय तहले एक घर एक पासको व्यवस्था गर्ने जसले गर्दा घर पिच्छे सामान पनि पाइन्छ र भिड पनि नहुने हुन्छ।

६, कोरोना संक्रमण संग जोडिएका विभिन्न सूचनाहरूलाई लिएर नगरवासी अलमलमा परेका छन्। नगरवासी अलमलमा परेका छन्। नगरवासीलाई अलमल नहोस् भन्नको लागि नागरिकलाई स्वास्थ्य लगायत कुनै पनि अफ्ठ्यारो पर्दा सम्पर्क र समन्वय गर्न वडा अनुसार निश्चित संयन्त्र बनाउन र सो को प्रभावकारी सम्प्रेषण गर्न।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *