विराटनगर, ८ भदौं–विराटनगरमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबार राति मृत्यु भएको हो। आइतबार कोरोना पुष्टि भएपछि घरमै रहेका उनको स्वास्थ्य अवस्थामा समस्या भएपछि उपचारका लागि कोभिड अस्पताल लगिएको थियो।

अस्पताल ल्याएको केही समयपछि उनको मृत्यु भएको कोशी अस्पतालका मेसु डा चुमनलाल दासले जानकारी दिए। परिवारजनले श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा खबर गी उनलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइएको थियो। परिवारकै एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनको स्वाब संकलन गरिएकोमा आइतबार गरेर पोजेटिभ रिपोर्ट आएको थियो।

पोजेटिभ आए पनि घरमै रहेका उनलाई स्वास्थ्यमा समस्या थपिएपछि राति उपचारका लागि कोभिड अस्पताल लगिएको विराटनगर महानगरपालिकाले जनाएको छ। मृतकका परिवारमा दुुई वर्षीया नाबालिकासहित अरु तीन जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ।

मृतककी श्रीमती, २५ वर्षीया बुहारी र दुई वर्षीया नातिनीमा संक्रमण देखिएको छ। तीनै जना अहिले ‘होम आइसोलेसन’मा छन। योसँगै हालसम्म कोरोनाबाट संक्रमित विराटनगरका एक महिलासहित १० जनाको मृत्यु भएको छ।

मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ भने प्रदेश १ मा २१ जनाको मृत्यु भएको छ। जसमा ३ जना सुनसरीको धरानका छन् भने ४ जना प्रदेश २ का हुन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *