काठमाडौँ, २८ पौष–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेपालको इतिहासमा पृथ्वीनारायण शाहपछिका धेरै राजाहरू राजा हुन लायक नभएको टिप्पणी गर्नु भएको छ।

शुक्रबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) को तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले उक्त कुरा बताउनु भएको हो।

संगठनका अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षता एवं पार्टी अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतित्थ्यतमा सम्पन्न कार्यक्रममा पृथ्वीनारायण शाहको ३०२औं जन्मजयन्तीलाई स्मरण गर्दै महासचिव भुसालले उक्त दाबी गर्नुभएको हो।

उहाँले भन्नुभयो, ‘इतिहासलाई फर्केर हेर्दा धेरै मानिसहरू राजा बन्न लायक नै थिएनन्। पृथ्वीनारायण शाहपछिका धेरै राजाहरू मुलुकले भोग्यो। तर, तिनीहरू राजा हुन लायक थिएनन्। जसलाई जनताले राजै मान्नुपर्ने व्यवस्था थियो। जुन व्यवस्थालाई फालेर हामीले लोकतान्त्रिक गणतन्त्र ल्याएका हौं।’

महासचिव भुसालले अगाडि भन्नुभयो, ‘मान्छेको चेतना विकास हुँदैगयो। मान्छेले चेतनालाई विकास गर्यो। हामी कोहीभन्दा कोही ठूलो र साना होइनौं भन्ने चेतनाकासाथ हामीले अहिलेको व्यवस्था ल्याएका हौं। यस व्यवस्थालाई संस्थागत गर्न हामीले संविधान लेख्यौं। संविधानमा धर्म निरपेक्षता, संघीयता र समावेशिता उल्लेख गर्यौं। साथै सनातनी धर्म, परम्परालाई राज्यले स्वीकार गर्ने कुरा लेख्यौं। खासमा धर्म मान्नु हुँदैन भन्यौं। राज्य भनेको भूमि हो, जनता हो, प्रहरी हो, अदालत हो, प्रशासन हो। राष्ट्रपति हो । प्रधानमन्त्री हो । यि कुराहरूले धार्मिक पक्षधरता देखाए भने देश भाँडभैलोमा जाकिन्छ। त्यसैले राज्यले धर्म मान्नु हुँदैन।’

वर्तमान संविधान लेखेपछि भारतले नाकाबन्दि लगाएको स्मरण गर्दै भुसालले भन्नुभयो, ‘कोठाभित्र थुनेर मारे जस्तै थियो त्यो नाकाबन्दि । हामीले संविधान लेखे वापत यस्तो सजाय पाएका थियौं। त्यो नाकाबन्दिको सामना, भुकम्प, कोरोना यस्ता धेरै महामारीको सामना गर्दै यहाँसम्म आएका छौं। आज राजनीतिक अस्थिरता छ। कांग्रेसले विचारको कुरा गर्दैन। यता कम्युनिष्ट हामी बाहेक विचारको कुरा गर्दैनन्। त्यसका कारण हाम्रो काँधमा ठूलो जिम्मेवारी छ। यसलाई सहर्ष स्वीकार गरेर यस पार्टीलाई वृह्त बनाउनतिर लाग्नुपर्छ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *