झापा, २९ पुस–नेपालका कोच समुदायले आज भाक्का दिवस भव्यताका साथ मनाएका छन् । यहाँका कोच समुदायले विगत सात वर्षदेखि पुस २९ गते भाक्का दिवस मनाउँदै आएका छन् । कोच राजवंशी समुदायको लोक परिकार तथा सांस्कृतिक उत्सवका रुपमा दिवस मनाउन थालिएको राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिनुभयो ।
“परम्परागत परिकारको संरक्षण गर्नुका साथै खाना पर्यटनको विकास गर्न पनि दिवस मनाउँदै आएका छौं”, उहाँले भन्नुभयो, ‘आदिवासी जनजाति समुदाय राजवंशीमा भाक्काको विशेष महत्व छ ।’
झापाको बिर्तामोड, भद्रपुर, राजगढ, मोरङ र सुनसरीका विभिन्न स्थानमा भाक्का दिवसको अवसरमा विविध कार्यक्रम गरिँदै छ । जसमध्ये झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा राजवंशी विकास समितिले विशेष कार्यक्रमको आयोजना गर्दैछ ।
भाक्का दिवसको उक्त कार्यक्रममा झापा, मोरङ लगायतका स्थानबाट हजारौं अतिथिको आगमन भएको समितिका अध्यक्ष राजवंशीले बताउनुभयो । दिवसको अवसरमा आगन्तुकहरुलाई निःशुल्क भाक्का समेत खुवाइको छ ।
अतिथिका लागि एक सय ५० जना महिलाले दुई हजार किलोग्राम चामलबाट तयार भएको पिठोबाट भाक्का बनाएका थिए भने एक हजार दुई सय केजी सब्जी÷ अचार बनाइएको थियो ।
कार्यक्रममा जातीय झाँकीसहित स्थानीय तथा बाह्य कलाकारको लोक सांस्कृतिक नृत्य लगायतका प्रस्तुति रहेको थियो ।
भाक्का दिवसको अवसरमा झापाको कचनकवल गाउँपालिका, हल्दिबारी र भद्रपुर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको थियो ।
