एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ, ३ माघ–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लैङ्गिक तथा वर्गीय विभेदको अन्त्य गरेर सामाजिक न्याय, समानता कायम गर्ने पार्टीको वैचारिक दृष्टिकोण रहेको बताएका छन्।

पार्टी केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले समान अधिकारका माध्यमबाट सामाजिक न्याय, समानता तथा समृद्धि कायम गर्न समाजवाद कार्यान्वयनमा जोड दिए।

उनले समाजमा विद्यमान शोषण पुँजीवादले अन्त्य गर्न नसक्ने भएकाले वर्तमान व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद भएको विचार व्यक्त गरे।

समाजवादमा एकले अर्कालाई शोषण, विभेद नगर्ने विशेषता रहेको बताउँदै उनले समाजवादका माध्यमबाट मुलुकमा समृद्धि कायम गर्ने र जनतालाई सुखी बनाउने कार्ययोजना पार्टीले तर्जुमा गरेको उल्लेख गरे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पार्टीका नीति, सिद्धान्तमा शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयलाई सर्वसाधारण नागरिकको सर्वसुलभ पहुँचमा पुर्‍याउने दृष्टिकोण रहेको प्रष्ट पारे।

जनतालाई गरिबीबाट मुक्त बनाउन कृषि क्षेत्रलाई औद्योगीकरण गर्न लगानी बढाउनुपर्ने उनको भनाइ थियो। अध्यक्ष नेपालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *