काठमाडौं, ८ भदौ–पछिल्लो समय नेपाली बजारमा गोलभेंडाको मूल्य दिनदिनै बढिरहेको छ। भारतीयबाट गोलभेंडा आउन छोडेपछि नेपाली गोलभेंडाले मूल्य पाएको किसानहरू बताउँछन्।

यो समयमा तरकारी तथा गोलभेंडा को मूल्य बढी नै हुनु पर्ने भए पनि भारतीय तरकारी आउँदा नेपाली उत्पादनले पाउन मूल्य पाउन नसकेको एसएन कृषि फार्मका सञ्चालक रेशम आचार्य बताए।

‘नेपाली बजारमा ५० प्रतिशत भारतीय गोलभेंडा आउँथ्यो, अहिले आउन सकेको छैन,’ उनले भने, ‘त्यही भएर मागअनुसारको उत्पादन नहुँदा गोलभेंडाको मूल्य बढेको हो।’

लकडाउनको सुरूवातमा गोलभेंडाले मूल्य नपाउनु, टप ड्रेसिङका लागि मल नहुनुले पनि उत्पादन कम भई मूल्य बढ्न गएको उनको भनाइ छ।

‘पहिले किसानले मूल्य नपाएकाले अहिले धेरेले लगाएनन्। त्यही माथि मलको पनि अभाव भयो, धेरै उत्पादन हुन सकेन,’ उनले भने।

वर्षातको सिजनमा खुला ठाउँमा गोलभेंडा उत्पादन हुँदैन। टनेलको गोलभेंडामा भर पर्नु पर्ने भएकाले गोलभेंडाको मूल्य बढेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले बताए।

‘वर्षातमा खुल्ला ठाउँमा गोलभेंडा उत्पादन हुँदैन, टनेलको गोलभेंडाको लागत बढी हुने भएकाले पनि मूल्य बढेको हो,’ उनले भने।

उनकाअनुसार पहिला अन्यत्र उत्पादन भएका गोलभेंडा काठमाडौं आउँथे भने अहिले काठमाडौंमा उत्पादन भएका गोलभेंडा पनि बाहिरी जिल्लामा गएका छन्। भएका उत्पादन पातलिँदै गएपछि गोलभेंडाको मूल्य बढेको छ।

धेरैले तीज तामझामका साथ मनाएको भए गोलभेंडाको मूल्य अझै बढ्ने उनी बताउँछन्।

‘कोरोनाले गर्दा तीज चहल पहल एकदमै कम भयो, राम्रोसँग मनाएको भए अझै महँगो हुन्थ्यो,’ उनले भने।

उनकाअनुसार भारतमा पनि गोलभेंडाको उत्पादन कम भएकाले नेपाली बजारमा आएको छैन। चैतसम्म भारतीय सानो र ठूलो दुबै गोलभेंडा नेपाली बजारमा आएको थियो भने वैशाखबाट सानो गोलभेंडा मात्र आएको छ।

कालिमाटी तरकारी बजारको तथ्यांक हेर्ने हो भने जेठ पहिलो साताबाट भारतीय गोलभेंडा आएको छैन। साउन १० गतेसम्म प्रतिकेजी १० देखि २० रूपैयाँमा थोक बिक्री भएको गोलभेंडा ११ गतेबाट प्रतिकेजी ३० देखि ४० रूपैयाँमा थोक बिक्री भएको छ। त्यसको एक हप्तामा थोक मूल्य प्रतिकेजी ४० देखि ६० रूपैयाँ पुगेको छ भने अर्को साता ८० रुपैयाँसम्म पुगेको छ।

भदौ १ गते नेपाली ठूलो गोलभेंडाको थोक मूल्य प्रतिकेजी न्युनतम ६० देखि ६५ रूपैयाँ थियो। सानो र टनेल गोलभेंडा ३५ देखि ४० रूपैयाँ थियो। त्यस्तै, भारतीय प्याज प्रतिकेजी ३१ देखि ३३ रुपैयाँ, गाँजर ५५ देखि ६०, बन्दा ३५ देखि ४०, काउली सयदेखि १ सय १०, मुला ५० देखि ५५, भण्टा ५५ देखि ६०, तने बोडी ६५ देखि ७०, सिमी एक सय १० देखि १ सय १५, तितेकरेला २० देखि २५, लौका ३५ देखि ४०, परवल ६० देखि ७०, घिरौला २० देखि २५, फर्सी ५० देखि ६० र च्याउ ३ सय ७० देखि ८० रूपैयाँ कालिमाटीको थोक मूल्य थियो।

२ गते सानो गोलभेंडा १० रूपैयाँ वृद्धि भएको भएर ४५ देखि ५० पुगेको छ। टनेल गोलभेंडा भने प्रतिकेजी २० रूपैयाँले वृद्धि भएर ६० देखि ६३ रूपैयाँ थोक मूल्य पुगेको छ। त्यस्तै १ गतेको तुलनामा सिमी र डल्ले च्याउमा १० रूपैयाँ वृद्धि भएको छ भने अन्य तरकारी सामान्य घटबढ भएको छ।

३ गते गोलभेंडा सानो ५५ देखि ६० , टनेल ६३ देखि ७५, ४ गते गोलभेंडा ठूलो नेपाली ७५ देखि ८०, सानो ६५ देखि ७० र टनेल ७० देखि ७५, ५ गते देखि आज ८ गतेसम्म गोलभेंडाको कालिमाटी बजारको थोक मूल्य उस्तै देखिन्छ।

लौका, फर्सी, गाँजर, बन्दा, मुला, काउली, बोडी, भन्टा, करेला, सागसब्जीलगायतका अन्य मौसमी तरकारीको थोक मूल्य भने सामान्य रूपमा घटबढ भएको छ।

लकडाउनका बेला ठूलो परिमाणमा तरकारी खपत हुने होटल, रेष्टुरेन्टलगायतका क्षेत्र बन्द भएका र घरायसी प्रयोगका लागि मानिसले कोसी खेती गरेकाले तरकारीको मूल्य नबढेको जानकारहरू बताउँछन्।

बजारमा गोलभेंडाको उपभोक्ता मूल्य भने प्रतिकेजी १ सय ३० देखि ३० रूपैयाँ छ। एकहप्ता अघि प्रतिकेजी ७० देखि ८० रूपैयाँ थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *