दमक, ८ भदौं–तत्कालीन प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषबाट चारजना पत्रकार एकसाथ लाभान्वित भएका छन् । हाल प्रेस संगठनमा आवद्ध रहेका पत्रकारहरुको अग्रसरतामा अभियान सञ्चालन छ ।
कोषको सदस्य बनेका पत्रकारहरु कुनै पनि कारणले बिरामी भई उपचार गर्नु परेको अवस्थामा आर्थिक राहत पुर्याउने मनसायले यसको सञ्चालन गरिएको हो । कोषमा एक सयजना भन्दा बढी झापाका पत्रकारहरु आवद्ध छन् भने तीन लाख रुपैयाँको अक्षय कोष निर्माण गरिएको छ ।
कोष सञ्चालन समितिको हालैको बैठकले धर्मेन्द्र भट्टराई ‘मामा’, पुष्प बराल, प्रेम आचार्य र सुनिरा मैनालीलाई उपचार सहयोग प्रदान गर्ने निर्णय गरेको उपचार कोषका संयोजक गोपाल काफ्लेले जानकारी दिए । सोमबार उनीहरुलाई साझामञ्चको कार्यालयमा आमन्त्रण गरी रकम हस्तान्तरण गरिएको हो ।
पत्रकारहरुका दुई संगठनको एकीकरणका कारण विविध प्रक्रियाहरु पूरा गर्नु परेकाले अस्पतालमा उपचार गरिरहेकै अवस्थामा सहयोग रकम हस्तान्तरण गर्न असमर्थ भएको पनि कोषका संयोजक काफ्लेले बताएका छन् ।
उपचार कोषका पूर्व संयोजकसमेत रहेका भट्टराई पोखरा जानेक्रममा बस दूर्घटनामा परेर गम्भीर घाइते भएका थिए । यस्तै बराल र आचार्यको मोटरसाइकल दूर्घटनामा परेर खट्टा भाँचिएको थियो । मैनाली चाहिँ विशिष्ट व्यक्तिको सुरक्षामा पहरा बसेका प्रहरीको बन्दुक अचानक पड्किएर निस्किएको छर्रा लागेर घाइते भएकी थिइन् ।
उपचार कोषले यसअघि स्वर्गीय मदन ढकाल र मिर्गौलाको समस्या व्यहोरिरहेकी माया पकुवाललाई सहयोग हस्तान्तरण गरेको थियो ।
उपचार सहयोग कोषका संयोजक गोपाल काफ्लेको अध्यक्षतामा गरिएको रकम हस्तान्तरण कार्यक्रममा जिल्ला संयोजक मुक्ति पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । संगठनका नेताहरु तीर्थ सिग्देल, माधव बिद्रोही, पार्टीका जिल्ला प्रचार विभाग सहसंयोजक सन्तोष आचार्य र पत्रकार महासंघका उपाध्यक्ष भीमा शिवाकोटीले कोषको महत्वका बारेमा चर्चा गरेका थिए ।
