भद्रपुर, १३ माघ–नेपाली कांग्रेसको ७८औं स्थापना दिवसको अवसर पारेर काँग्रेसका महामन्त्री गगनकुमार थापाले झापाको भद्रपुरबाट ‘संवाद यात्रा’ सुरू गरेका छन् ।

माघ १३ गतेदेखि हुलाकी सडकको पहिलो बिन्दु भद्रपुर स्थित मेची पुलबाट महामन्त्री थापाले बिहान ८ बजे सुरू गरेको नागरिकसितको संवाद यात्रा २६ गते कञ्चनपुर स्थित महाकाली नदीमा टुंगिने गरी यात्रा सुरू गरेका हुन् ।

समुदायमा कांग्रेस अभियानअन्तर्गत यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य मधु आचार्य, प्रदीप पौडेल, अमृत अर्याल, गोमाकुमारी घिमिरे भट्टराई, शुशिला ढकाल, कोशी प्रदेश सभापति उद्धव थापा, युवा नेता गुरूराज घिमिरे लगात जिल्ला सभापतिहरू सहभागी रहेका छन् ।

मेची पुल पश्चिमपट्टि ५ वटा वृक्षरोपण गरेर सुरू भएको अभियानमा झापाका स्थानीयले हात्तीका कारण उत्पन्न समस्या, वैदेशिक रोजगारको बाध्यता, किसानका समस्या, सडक, पुलका समस्या, शिक्षा तथा स्वास्थ्य उपचारका समस्या बारेमा संवाद गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नागरिकमा देखिएको निराशाको पहिचान गरी आशावादी जीवन शैली निर्माण गर्न संवाद यात्रा तय गरेको प्रष्ट पारेका थिए । उनले हिजो राजनीतिक लडाई पहिलो प्राथमिकतामा थियो भने आज आर्थिक उन्नतिका लागि जनमैत्री शासन आवश्यक रहेकाले शिक्षा र स्वास्थ्यमा सुधार ल्याउन राजनीतिक भागबण्डा अन्त्य गर्न सदन मार्फत सरकारलाई खवरदारी गरिरहेको बताए । महामन्त्री थापाले काँग्रेस स्थापना कालदेखि नै किसान र मजदुरको पार्टी भएकाले अव नवीन काँग्रेस निर्माणका लागि किसान र मजदुरका सवै समस्या हल गर्न काँग्रेस सक्षम हुने समेत धारणा राखेका थिए ।

यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले नागरिकको भरोषा योग्य पार्टी नेपाली काँग्रेस मात्र भएकाले विगतका गल्ति कमजोरी सच्याएर समृद्ध नेपाल अभियानका लागि भुँइ मान्छेका पक्षमा काँग्रेस अगाडि बढिरहेको धारणा राखे । उनले नागरिकका निरासालाई राजनीतिले चिरेर आशा र भरोषा बनाउनु पर्नेमा केही दलले निराशामा खेलेर राजनीतिक व्यापार गरिरहेको भन्दै सवै दलहरू देश र जनताप्रति इमान्दार बन्नु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा पूर्व महामन्त्री तथा राष्ट्रिय सभा सदस्य कृयणप्रसाद सिटौलाले अवको काँग्रेस गगन—विश्व जस्ता युवाको काँधमा रहेकाले राष्ट्र, राष्ट्रियता र नागरिकको उन्नतिका लागि निस्वार्थ भएर अगाडि बढ्न आग्रह गरेका छन् । नेता सिटौलाले देशको उन्नतिका लागि किसान र मजदुरको उन्नति हुने कार्य आजको आवश्यकता भन्दै सिद्धान्तमा भन्दा व्यवहारमा राजनीति अग्रसर हुनु पर्ने धारणा राखेका थिए ।

देश भरीका पार्टीका कार्यकर्ता र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा सुरु गरेका हुन् । संवाद यात्रामा जनताका कुरा सुन्ने, आफ्ना कुरा नभन्ने ९भाषणका कार्यक्रम नगर्ने० जनाइएको छ ।
थापालेविहान ८ वजेबाट सुरू गरेको कार्यक्रममा बिहान १० बजे कञ्चनश्रीमा हात्ती प्रभावित क्षेत्रको अवलोकन गर्ने, गुनासा र पीडा सुन्ने, ११ देखि १२ बजे कृषक समूहसँग संवाद गर्ने, १२ः३० बजेदेखि २ बजेसम्म झापा बजारमा खुला संवाद गर्ने कार्यक्रम छ ।

कुञ्जीवारीमा पैदलयात्रा गर्दै कन्काई नदी तर्ने, दिउँसो ३ बजे खजुरगाछीमा खुला संवाद गरी ४ बजे झापाको चौकीघाटबाट मोरङ प्रस्थान गर्ने कार्यक्रम छ ।

संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ । यो संवाद यात्रा माघ २६ गते सकिनेछ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *