एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ, १९ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन पाँच वर्ष कायम रहने बताउनु भएको छ।

जनकपुरमा बिहीबार समाजवादी प्रेस संगठन नेपाल धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो।

अध्यक्ष नेपालले नेकपा एमालेप्रति लक्षित गर्दै कतिपयलाई गठबन्धन नपचेर वान्ता हुने गरेको टिप्पणी गर्नुभयो। अध्यक्ष नेपालले भन्नुभयो, ‘कतिपयलाई गठबन्धन नपचेर वान्ता हुने गरेको छ। नपचेर के भयो, यो गठबन्धन पाँच वर्षसम्म चल्छ।’

त्यस्तै अध्यक्ष नेपालले दरबार हत्याकाण्डबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउनु भएको छ।

उहाँले भन्नुभयो, ‘जहाँसम्म दरबार हत्याकाण्डको कुरा छ। त्यतिखेर मेरो नाम आएको थियो। तपाईँहरूले बिर्सिनुभएको छैन होला। मैले के राखेको थिएँ भन्दा म भनेको कम्युनिस्ट पार्टीको नेता हो।

म प्रतिपक्ष दलको नेता हो भने सत्तापक्षको नेता पनि त्यो आयोगमा बस्नुपर्छ। गिरिजाबाबु बस्ने हो भने म पनि बस्छु, होइन भने दोष हामीलाई आउने अनि नेपाली काँग्रेस जोगिने त्यो बेलाको स्थिति बन्थ्यो। त्यसैले मैले अरूले बसेर हुँदैन, राजनीतिक नेतालाई राख्ने हो। होइन भने राख्नै छ भने हाम्रो पार्टीबाट भरत मोहन अधिकारीलाई राख्नुस्। उहाँ कानुनको ज्ञाता पनि हो। भनेर मैले प्रस्ताव राखेको थिएँ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *