दमक, २० माघ–नेपाली चलचित्रमा कलाकार दयाहाङ राई स्थापित नाम बनिसकेका छन् । पछिल्लो समय व्यस्त कलाकारको सूचीमा अगाडि नाम आउने राईले अभिनय गरेका दुई चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ एकसाथ माघ २६ गते प्रदर्शन हुँदैछन् ।
कलाकार राईको यो संयोग दोस्रो पटक हो । यसवर्षको सुरुकै दिन वैशाख १ मा पनि उनी अभिनित दुई चलचित्र ‘जारी’ र ‘विहे पास’ एकसाथ प्रदर्शन गरिएको थियो ।
दोस्रो पटक पनि उस्तै संयोग परेपछि पनि कलाकार राईले उस्तै जवाफ दिए, “दुवै चलचित्र फरक स्वादका छन् । यी दुई चलचित्र निर्माण नै तीनदेखि चार वर्षको फरक छ। सायद, यो समयमा व्यापार हुन्छ भन्ने लागेर होला, प्रदर्शन गर्ने निर्णयमा पूर्णतया निर्माताको अधिकार हुन्छ ।
दुवै चलचित्रमा फरक विषय र परिवेशलाई प्रस्तुत गरिएको छ । एउटा विशुद्ध पारिवारिक कथामा छ भने अर्कोमा समसामयिक विषयवस्तु छ, दर्शकलाई दुवै चलचित्रले निराश बनाउँदैन ।”
दुई चलचित्रमा विषयवस्तु र विधाका हिसाबले फरक भए पनि अभिनेता राई भने समान हुन् । “एकै दिन दुई चलचित्र प्रदर्शन हुँदा एउटा सफल र अर्को असफल हुँदा मलाई नै घाटा हुन्छ । यद्यपि फरक विधा र विषयले गर्दा दर्शकको मन दुवैले जित्छ भन्ने लागेको छ, यो समयमा दुई चलचित्रभन्दा बढी शुभकामना मलाई चाहिएको छ”, राईले भने ।
