एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ, २० माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्वाचन लडेर प्रधानमन्त्री बन्न चुनौती दिनु भएको छ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो सुझाव दिनु भएको हो। उहाँले राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भने र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भइ चुनाव जितेर प्रधानमन्त्री बन्दै देशको नेतृत्व गर्न पूर्वराजा शाहलाई सुझाव दिनुभयो।

अध्यक्ष नेपालले राष्ट्रपति बन्नका लागि मानिसहरूको अभाव नरहेको जिकिर गर्नुभयो। नेपालले देशको काम प्रधानमन्त्रीले गर्ने भएकाले प्रधानमन्त्रीसँगको विवाद हो भने प्रधानमन्त्री बन्न देशमा चुनाव लड्न सुझाव दिनुभयो।

‘यहाँ राजतन्त्रको बारेमा कुरा उठाउनु भनेको असान्दर्भिक हो। यदि राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भने, मुलुक राम्ररी चलाउन सकेका छैनन् भने नेता भएर आए हुन्छ। जनताको बीचमा चुनाव जितेर आए हुन्छ। राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिए हुन्छ’ नेपालले भन्नुभयो, ‘अहिले राष्ट्रपति हुने मान्छेको अभाव भएर होइन। काम गर्ने भनेको प्रधानमन्त्रीले हो, प्रधानमन्त्रीसँगको यदी विवाद हो भने प्रधानमन्त्री बन्न तपाई चाहनुहुन्छ भने तपाई आउनुस्।’

‘अहिले हाम्रो देशको सामु प्रतिगामी शक्तिहरुले टाउको उठाउने र यो व्यवस्थालाई समाप्त पार्ने मात्रै देखिएको छ । त्यसको सामना गर्ने हो। राजतन्त्रले फेरि फर्किएर आउने चाहना राखेको छ । त्यो कदापि सम्भव छैन’ अध्यक्ष नेपालले भन्नुभयो, ‘राजाको पालामा प्रकृतिको एकलौटी लुट मच्चाएको, लुम्बिनी विकास कोषमा लुट मच्चाएको, पशुपति विकास कोषमा लुट मच्चाएको, जनकपुरमा पनि त्यही ढंगले बाहिरबाट आएका अनेक श्रोतसाधनहरुलाई एकलौटि कब्जा गरेको, न खोज, न अनुसन्धान, न कुनै कसैले प्रश्न गर्ने ? यस्तो स्थिति थियो । कुनै कोणबाट हेर्दा पनि राजतन्त्रको औचित्यता पुष्टि गर्न सकिँदैन ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *