काठमाडौं, ९ भदौं–धरानस्थित विपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा २० वर्षीय कोभिड संक्रमित महिलाले स्वस्थ्य बच्चालाई जन्म दिएकी छिन्। आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए। उनका अनुसार संक्रमित महिला विराटनगर महानगरपालिका वडा नम्बर २ की बासिन्दा हुन्।
नवजात शिशुको तौल २ किलो ८ सय ग्राम छ। ‘नवजात शिशुको स्वास्थ्य राम्रो छ’, सापकोटाले भने, ‘आमामा पनि अन्य स्वास्थ्य समस्या देखिएको छैन।’ यही भदौ ३ गते ती महिला अस्पतालमा भर्ना भएका थिइन्। उनका अनुसार प्रसूति विभागका डा सूर्यप्रसाद रिमाल नेतृत्वको चिकित्सक र नर्सको टोलीको सहयोगमा कोरोना संक्रमित गर्भवतीको नर्मल डेलिभरी भएको हो।
प्रसूति गराउँदा अप्रेसन पनि गर्नुपर्ने अवस्था आउने भएकाले त्यसका लागि चिकित्सक तयारी अवस्थामा रहेका थिए। तर नर्मल डेलिभरी भएकाले चिकित्सकलाई पनि राहत मिलेको बताइएको छ।
