काठमाडौँ, २९ माघ–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले केपी ओली नेतृत्वको एमाले कमजोर बन्दै गएको बताउनु भएको छ।
आइतबार हिमालय टेलिभिजनमा अन्तरवार्ता दिने क्रममा महासचिव भुसालले उक्त कुरा बताउनु भएको हो। पत्रकार राजेन्द्र बानियाँसँगको कुराकानीमा महासचिव भुसालले केपी ओलीले जे भन्यो एमालेले त्यहि गर्नाले त्यो पार्टी कमजोर बनेको बताउनु भयो।
ओलीले पार्टी चलाउन नसक्दा आजको अवस्था आएको भन्दै महासचिव भुसालले भन्नुभयो, ‘केपी ओलीले जे भन्यो एमालेले त्यहि गर्छ। एमालेले जे गर्छ, त्यसले मुलुकलाई असर पर्छ भन्ने अवस्था छैन। किन कि एमाले आज निक्कै कमजोर बनिसक्यो। ओलीजिले एमाले चलाउन सक्नु भएन। हिजो उहाँले जस्तो संगठन बनाउनका निम्ति भीम रावल र हामीलाई जे जे गर्नु भयो, त्यसको परिणाम देखिँदैछ।’
त्यस्तै महासचिव भुसालले नयाँ भनिएका राजनीतिक दल र तीनका नेताहरू आरोपहरू पखाल्दैमा सिमित भएको दाबी गर्नुभयो। साथै महासचिव भुसालले राजावादीहरू स्यालको सिङ खोज्न हिडिरहेको टिप्पणी गर्नु भएको छ।
