काठमाडौँ, ४ फागुन–नेकपा (एमाले) ले प्रचार तथा प्रकाशन विभागमा ३ जना सदस्यलाई मनोनीत गरेको छ। बिहीवार केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले प्रचार तथा प्रकाशन विभागमा ३ जनालाई मनोनीत गर्ने निर्णय गरेको हो।

महासचिव शंकर पोखरेलले काठमाडौंका मणिराज बाँस्तोला, सिन्धुपाल्चोकका माधव नेपाल र खोटाङका इन्द्र आचार्यलाई पार्टीको प्रचार तथा प्रकाशन विभागको सदस्यमा मनोनीत गरिएको जानकारी दिए। बैठकले आगामी फागुन ८, ९ र १० गते बस्ने केन्द्रीय कमिटीको बैठकका लागि तर्जुमा गर्ने एजेण्डाको सम्बन्धमा पनि छलफल गरेको बताए।

केन्द्रीय कमिटी बैठकमा वर्तमान राजनीतिक अवस्थाको समीक्षा, सांगठनिक प्रतिवेदन र संगठन सुदृढीकरण सम्बन्धी विशेष कार्ययोजना राख्ने तय भएको उनले जानकारी दिए। त्यसैगरी पार्टीलाई अझ व्यवस्थित बनाउने ढाँचाको सम्बन्धमा छलफल गर्ने कुरालाई पनि एजेण्डा बनाइने उनको भनाइ छ।

महासचिव पोखरेलले गठबन्धन सरकार राष्ट्रिय हित, जनसरोकार र सुशासनको सम्बन्धमा गम्भिर विचलन देखापरेको भन्दै सरकारलाई दबाव दिने र जनपरिचालन गर्ने विषय पनि केन्द्रीय कमिटी बैठकको एजेण्डा बन्ने बताए। मध्य पहाडी क्षेत्रको समग्र विकासका लागि दृष्टिकोण तय गर्ने, पार्टीमा प्रवेश गर्नेहरू र अधिवेशनबाट बिदा भएकाहरूको व्यवस्थापन गर्ने र पार्टीको केन्द्रीय कार्यालय भवन बनाउन पार्टी सदस्यहरूबाट न्यूनतम सय रुपैयाँ उठाउने प्रस्ताव पनि केन्द्रीय कमिटी बैठकमा एजेण्डाको रूपमा प्रस्तुत गरिने उनले बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *